पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरुले ननभेज आन्दोलन गर्ने बताइरहेको बताउँदै ननभेज आन्दोलन केलाई भनिन्छ भन्दै प्रश्न गरेका छन् । २० औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ननभेज आन्दोलनको अर्थ केहो भन्दै प्रश्न गरेका हुन् । उनले कोभिड १९ को लडाईमा आफ्नो ज्यान जोखिममा राखेर सशस्त्र प्रहरीले खेलेको भूमिकालाई प्रशंसा गरेका छन् ।
कोरोना भाइरसविरुद्धमा लडेकाहरु स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी धन्यवादको पात्र भएको प्रधानमन्त्री ओलीको भनाई थियो । भारतबाट कोभिड १९ को भ्याक्सिन नेपाल आइसकेको र सम्भव भएसम्म माघ १४ गतेबाट दिन सुरु गर्ने उनले बताएका छन् ।
भ्याक्सिनका लागि समुह छुट्याएको बताउँदै उनले ४ लाख ३० हजारलाई पहिलो चरणमा भ्याक्सिन दिने प्रधानमन्त्री ओलीले जानकारी दिएका छन् । पहिलो चरणमा सरसफाईकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुले भ्याक्सिन पाउने उनले बताए ।
पर्याप्तमात्रामा भ्याक्सिन नआइसकेको बताउँदै प्रधानमन्त्री ओलीले सरसफाई तथा स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन् । कोरोनालाई पराजित गर्ने विन्दुमा नेपाल पुगिसकेको उनको दावी थियो ।