काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार भन्नेवित्तिकै फलानो पार्टीको भनेर चिन्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलामा आफुपक्षीय पत्रकारलाई सम्बोधन गर्दै ओलीले पत्रकार भन्नेपवित्तिकै फलानो पार्टीनिकटको पत्रकार भनेर चिन्नुपर्ने बताएका हुन्।
उनले भने, ‘यो पार्टीसँग निकट भएकाले म तपाईहरुलाई आग्रह गर्छु, पत्रकार हुँ भन्ने वित्तिकै फलानो पार्टीको हो भनेर चिनोस् ।’ ओलीले सबैलाई तिमी भनेर पत्रकारहरुले आफ्नो सभ्यता बिर्सिएको भनाइ दोहोर्याएका छन् ।
‘हिजो राजतन्त्र हुँदा, दरबार हुँदा, राजाको श्रीमती हुँदा, छोराछोरी हुँदा त्यसबेला हामी कसरी बोल्थ्यौं? ’ उनले भने । दरबारमा प्रयोग हुने भाषाबारे केही उदाहरण पनि ओलीले सुनाए, ‘हेर्नुस् न भन्दैनथ्यौं, आज त हामी हेर्नुस् न होइन, हेर‘ । उहाँले भन्नुभयो भन्दैनथ्यौं, हुक्कुम बक्सियो । हेर्नुभयो भन्दैनथ्यौ थियौ, नजर भयो ।’ उनले केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्न लागेको बताएका छन् ।
त्यस्तै ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन् । उनले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको जनाए ।
‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ । यसमा हामी सबै सजग हुनुपर्छ । देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ’, उनले भने, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो । हामी रातो झण्डा फहराउनेवालाहरु हौँ । काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ । हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ । हामीलाई देश बनाउनु छ । सुशासन र विकासको बाटामा जानु छ ।’
अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे । ‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार: स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षा: प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ ।