काठमाडौं । भारतले अनुदानमा दिने १० लाख डोजको कोभिड १९ विरुद्धको खोप बोकेर एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आइपुगेको छ । केहीबेरअघि एयर इन्डियाको विमानबाट कोरोनाविरुद्धको खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । खोप नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई दिन लागेको हो ।
उक्त खोपलाई टेकुस्थित स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । नगर प्रहरीले स्कर्टिङ गरी खोप टेकुसम्म पुर्याउने छ । त्यसपछि स्वास्थ्य सेवा विभागबाट प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ ।
तोकिएका खोप केन्द्रहरुबाट पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने टोलीलगायतलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।