काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन् । राष्ट्रपति भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छन् । उनले कोभिड–१९ महामारीको समयमा बाइडनको कार्यकाल सफल रहोस् भन्ने कामनासमेत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाएका छन् । ओलीले बाइडनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने विश्वास व्यक्त गरेका छन् । उनले अमेरिका–नेपालको द्विपक्षीय सम्बन्ध आगामी वर्षमा नयाँ उचाइमा पुग्ने उल्लेखसमेत गरेका छन् ।
त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले अमेरिकी समकक्षी कमला ह्यारिसलाई बधाई सन्देश पठाएका छन् । सन्देश पठाउँदै उनले नयाँ अमेरिकी प्रशासनको लैंगिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तन जस्ता सामयिक मुद्दाको सह्राना गरेका छन् । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडनले नेपाली समयअनुसार बुधबार राति पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।