१ मिनेट १९ सेकेण्ड बसेर स्थगित भयो प्रदेश १ को हिउँदे तथा सातौं अधिवेशन

काठमाडौं । आजबाट सुरु भएको प्रदेश १ को हिउँदे तथा सातौं अधिवेशन जम्मा २ मिनेट बसेर अनिश्चितकालका लागि स्थगित भएको छ । आज दिउँसो २ बजेर ११ मिनेट जाँदा सुरु भएको बैठक सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र पढेर स्थगित गरेका हुन् । उक्त बैठक जम्म १ मिनेट १९ सेकेण्डमात्र बसेरको प्रदेश सचिवालयले जानकारी दिएको छ । प्रदेशसभाको बैठकमा सबै सांसदहरुको सहभागिता रहेका भए पनि कारवाही अगाडि बढ्न पाएन ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा हाल २ कित्तामा विभाजित छ । पार्टीले औपचारिक रुपमा फुटेको घोषणा नगरेको भए पनि उनीहरुले आ–आफ्नो संगठन अनुसार अगाडि बढिरहेका छन् । केन्द्रको विवाद प्रदेशमा समेत पुगेपछि उक्त प्रदेशका मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेको १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने ओली समुहले तय गरेको थियो ।

मुख्यमन्त्री राईले नेकपा प्रचण्ड–नेपाल समुहका १६ जना सांसदलाई निलम्बन गरेको घोषणा गरेका थिए । यता प्रचण्ड–नेपाल समुहले भने मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाइसकेको बताउँदै हिउँदे अधिवेशनमा बोल्न नदिने रणनीतिका साथ अगाडि बढेका थिए ।

नेकपा कै विवादका कारण प्रदेशसभामा होहल्ला तथा मुठभेडको परिस्थिति सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै मर्यादापालकको संख्या समेत बढाइएको स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...