प्रतिनिधिसभा विघटन गरेर ओलीले राजतन्त्र पुनःस्थापना गर्ने बाटो रोजेका छन्ः प्रचण्ड

सुमन थापामगर

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राजतन्त्र पुनःस्थापना गर्ने बाटो रोजेको आरोप लगाएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले ओलीको यो प्रतिगामी कदमले मुलुकलाई निरंकुशतर्फ धकेल्ने, राजतन्त्र पुनःस्थापना गर्ने प्रक्रियाको सुरुआत भएको प्रचण्डले दावी गरेका हुन् । ओलीको यो कदमलाई कुनै पनि हालतमा राक्नुपर्ने भन्दै आफूहरु लागिपरेको समेत उनले कार्यक्रममा बताएका छन् ।

जंगली जनावरले समेत आफ्नो बच्चा जोगाउन अन्य जनावरलाई झम्टिने बताउँदै नेपाली नागरिकले बनाएको संविधानलाई प्रधानमन्त्री ओलीले गरेकाले त्यसलाई जोगाउन झम्टिनुपर्ने समय आएको प्रचण्डले बताए । आफूले संविधान नेपाली नागरिकको बच्चा भएको र बच्चालाई जोगाउन आन्दोलनमा जानुपर्ने बताएको उनको भनाई थियो । आफूले संविधान जोगाउन राष्ट्रपतिदेखि अन्य महिलालाई समेत आग्रह गरेको बताउँदै प्रचण्डले महिलाहरुलाई संविधान बचाउनुस् भनेको तर हिंसामा अग्रसर हुनुस् नभनेको उनको स्पष्टोक्ति थियो ।

आफूहरु हिंसाको बाटोमा नभएर प्रधानमन्त्री ओलीले प्रहार गरेको संविधान जोगाउन अगाडि बढेको उनले बताए । ‘हामी नेपाली जनता गज्रिनुपर्छ भनेर मैले भन्ने गरेको छु, भनेको छु, यो मैले कुनै हिंसाको लागि भनेको होइन, हामीले शान्तिपूर्ण राजनीतिमा बहुदलीय प्रतिस्पर्धामा स्वतन्त्र कानुनी राज्य तथा न्यायपालिकामा हामीले प्रतिबद्धता जनाइसकेका छौं ।’ उनले कार्यक्रममा भने ।

आफूहरु बन्दुकको भाषा होइन, मतपत्र तथा जनमतको भाषामा विश्वास गर्ने उनले बताएका छन् । प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर आफूंमा अन्तरनिहीत प्रतिनिधिसभा विघटन गरिएको उनको आरोप थियो ।

कमेन्टहरु
Loading...