केपी ओली झुठको पुलिन्दा हुन्, प्रचण्ड र म ४० वर्षदेखि साथ थियौंः माधवकुमार नेपाल

सुमन थापामगर

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षको अध्यक्ष माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि ‘कु’ गरेको आरोप लगाएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अहंकारमार्फत् प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका हुन् । ओलीले हरेक पटक मदन भण्डारीको निधन पछि आफूलाई सहयोग गरेको भन्ने गरे पनि ओली जस्तो असहयोगी व्यक्ति कोही नभएको अध्यक्ष नेपालको दावी थियो ।

हाल अफूहरु सुन्दर नेपाल, मुलुकलाई विकसित राष्ट्र बनाउने तथा समाजवादी चिन्तनलाई साथमा लिएर अगाडि बढेको अध्यक्ष नेपालले बताएका छन् । आफूहरुको उद्देश्यलाई साथ दिन नेता नेपालले सञ्चारकर्मीलाई आग्रह समेत गरेका छन् । ओलीले आफ्नो स्वार्थबाहेक अन्य कसैको पनि समस्या नदेख्ने उनले आरोप लगाए । ओलीको व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरु एकजुट भएको नेता नेपालको भनाई थियो ।

प्रधानमन्त्री ओलीले शब्द शब्दमा झुठ बोलेको उनको आरोप रहेको थियो । ‘उहाँ झुठको पुलिन्दा हो । सधैं जालसाधी गरेर १ दिनमा ३ जनालाई पद दिने मान्छे ओली नै हो ।’ उनले भने । अब एमाले र माओवादी भन्ने पार्टी नै नभएको उनले बताएका छन् । ४ दशकदेखि प्रचण्डसंगको सम्बन्धबाट आफूहरु गणतन्त्रका लागि लडेको उनको दावी रहेको थियो । ‘४० वर्षदेखि हाम्रो सम्बन्ध छ, जनयुद्ध चल्नुभन्दा अगाडिदेखि नै हाम्रो सम्बन्ध थियो ।’ नेता नेपालले भनेका छन् । कार्यक्रममा उनले केपी ओली प्रतिगामीको स्तम्भ भएको उनको आरोप लगाए । ओलीको निर्णयविरुद्ध सिंगो नेपाल नै आन्दोलित भएको समेत उनले दावी गरेका छन् ।

कमेन्टहरु
Loading...