सत्रकाे महेन्द्रे भाइरस र पुस ५ को ‘खड्गेन्द्रीय’ भाइरसले दुख दियोे : सांसद आचार्य

दिपक के श्रेष्ठ

गण्डकी प्रदेशको जारी विशेष अधिवेशनको नवौं बैठकमा जनता समाजवादी पार्टीतर्फका सांसद हरिशरण आचार्यले देशमा भाइरसले निरन्तरता पाएको बताएका छन् ।

कोरोनासँग सम्बन्धित संकल्प प्रस्तावको विषयमा बोल्दै सांसद आचार्यले १७ सालमा महेन्द्रे भाइरसले नेपालीलाई दुख दिएको र अहिले पुस ५ मा खड्गेन्द्रीय भाइरसले लोकतन्त्रको हुर्मत लिएको बताए ।

अहिले कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बेला राजनीतिक भाइरससँग लड्नुपर्ने बाध्यता आएको उनले टिप्पणी गरे । प्रदेशमा अन्त भन्दा कोरोनाको कहर केही कम भएपनि लक्ष्य अनुरुप गर्न नसकिएको भन्दै उनले संकल्प प्रस्ताव कतिपयलाई खेलौनाजस्ता लागेको उल्लेख गरे ।

‘कतिपयलाई दोहोरी खेलजस्तो लाग्यो होला’ उनले भने ‘तर यो प्रस्ताव जनताको स्वास्थ्यप्रति संवेदनशील विषय हो ।’ सभामा कोरोनासँग कसरी लड्ने भन्दा पनि राजनीतिक विषयवस्तुमा केन्द्रित भएकोप्रति उनले आलोचना गरे ।

कोरोना अझ खतरनाकरुपमा दोहोरिन लागेको भन्दै उनले साझा संकल्पको प्रस्तावमा घनीभूत छलफलमा जुट्नुपर्ने उल्लेख गरे । सोही क्रममा उनले गोरखाको आँपपिपलस्थित अस्पतालमा दक्ष जनशक्ति नहुँदा स्थानीयले स्वास्थ्यसेवा लिन नपाएको जानकारी गराए । उक्त अस्पतालमा हात भाँच्चिदा प्लाष्टरसमेत हुन नसकेको उनले जनाए ।

आचार्यले प्रदेशका २५ लाख जनताले सेवक बनाएर पठाएकले उनीहरुप्रति जिम्मेवार हुन सम्पूर्ण सांसदसमक्ष अपीलसमेत गरे ।

कमेन्टहरु
Loading...