पोखरामा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गयो, ७ जना घाइते

पोखरा । पोखरा–बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् ।

दुर्घटनामा पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिएका छन् ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । जीपमा ९ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताएका छन् ।

पोखरा–२५ हेम्जाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ । रासस

कमेन्टहरु
Loading...