सर्वोच्चको फैसला कांग्रेसलाई मान्य हुन्छः डा कोइराला

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटन सम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका छन् । मानव अधिकार तथा शान्ति समाज मोरङ शाखाको साधारणसभाका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले सर्वोच्चले कसैको दबाव र प्रभावमा नपरी निस्पक्ष रुपमा निर्णय सुनाउनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

केन्द्रीय सदस्य कोइरालाले राष्ट्रलाई हामीले प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै संविधान, लोकतन्त्र र संघीयतालाई संस्थागत गर्न नागरिक समाज एवं राजनीतिक दलको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य जीवन घिमिरेले लोकतन्त्रलाई संस्थागत गर्न नागरिकको भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले गणतन्त्रको उपलब्धिको रक्षा गर्नु हामी सबैको कर्तव्य भएको बताए ।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले विगतको तीतोमीठो अनुभवका आधारमा संविधानमा संसद् विघटनको विषयमा प्रष्ट व्यवस्था गरिएको बताएका छन् । रासस

कमेन्टहरु
Loading...