मुलुक निर्वाचनमय बनिसकेको छः नेता नेम्वाङ

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका नेता सुवास नेम्वाङले स्थिरताको लागि वर्तमान सरकारले काम गरेको भए पनि केही व्यक्तिलाई यो पाच्य नभएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले समृद्धितर्फ अग्रसर हुँदै गर्दा केही व्यक्तिले पचाउन नसकेर बाध्यताबस् निर्वाचनमा जानु परेको स्पष्ट पारेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई महाधिवेशनमार्फत् नेतृत्व सुम्पने भनिरहेको समयमा केहीले राजनीतिलाई अहिलेको संकटग्रस्त अवस्थामा पु¥याएको उनको आरोप थियो ।

देश तथा जनताले ओलीलाई हटाउन खोज्नुको कारण जान्न चाहिरहेको उनको भनाई थियो । ‘केपी ओलीलाई अस्वीकार गरेर गर्न खाजिएको केहो ? देशले त्यसको जवाफ खोजिरहेको छ ।’ नेता नेम्वाङले भने ।

हालसम्म पनि आफूहरुले प्रचण्डलाई अध्यक्ष नै सोचेको र कसैलाई पनि कारवाही गरेर ननिकालेको बताएका छन् । आफूहरु अझै पनि एकताको पक्षमा रहेको भन्दै नेता नेम्वाङले कसैलाई कारवाही नगरिएको उनले स्पष्ट पारेका हुन् । प्रचण्ड–नेपाल पक्षले पार्टीका विभिन्न नेता तथा कार्यकर्तालाई कारवाही गरेर हिंडिरहेको बताउँदै उनले आफूहरुले कसैलाई कारवाही नगर्ने उनले स्पष्ट पारेका छन् । ‘हाम्रो महासचिव विष्णु पौडेललाई पनि कारवाही गर्नुभयो रे । हाम्रो अध्यक्ष जीलाई पनि कारवाही गर्नुभयो भन्ने सुनेको थिएँ ।’ उनले भने, ‘प्रधानमन्त्री ओलीलाई हटाएर कारवाही गरिएको भन्ने विषयमा सुनेर अचम्म लागेको छ ।’ यो सबै कुराको जवाफ जनतालाई दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा उनले प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपाललाई पनि कटाक्ष गरेका छन् । नेता नेम्वाङले प्रधानमन्त्री ओलीलाई कारवाही गरेर अध्यक्ष बनेको भन्दै कटाक्ष गरेका हुन् । ‘खासमा मैले नाम बिर्सिएँ । तर उहाँ केपी कमरेडलाई कारवाही गरेर आफैं अध्यक्ष बन्नुभयो रे ।’ उनले भने, ‘केहीअघि केपी शर्मा ओलीसँग हार्नुभएको थियो रे । अहिले उहाँले केपी कमरेडलाई हटाएर अध्यक्ष बन्नुभो रे । कस्तो सजिलो र’छ । थाहै थिएन ।’

प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा नै निर्वाचन हुने समेत नेता नेम्वाङले दावी गरेका छन् । प्रतिनिधिसभाका विषयमा सर्वोच्च अदालतले नै निर्णय गर्ने बताउँदै उनले निर्वाचन हुँदैन भन्ने हल्ला फिजाएर सर्वोच्च अदालतलाई अनावश्यक दवाव दिने गरिएको उनको आरोप थियो । तोकिएको समयमा नै निर्वाचन हुने नेता नेम्वाङको दावी थियो । ‘देश निर्वाचनमा गइसकेको छ । स्वयम् हेनुस्, प्रतिपक्षीको आन्दोलनका कार्यक्रम हेर्नुस् । विरोध कार्यक्रम आयोजना गर्नु अचम्मको कुरा होइन ।’ उनले भने, ‘प्रतिपक्षीले विभिन्न स्थानमा विरोध कार्यक्रम गरेर जनताका माझ पुगिसक्नुभएको छ । यसबाट पनि बुझ्नुपर्छ कि देश निर्वाचनमय बनिसकेको छ ।’

आधिकारिकता आफूहरुले नै पाउने नेम्वाङले दावी गरेका छन् । अन्य केही व्यक्तिले देशमा आँधीबेहेरी आउँछ भन्ने गरे पनि आफूले त्यस्तो नभन्ने बताए । ‘हामी आँधीबेहेरी आउँछ भन्दैनौं । तर ढुक्क हुनुस् नेकपाको आधिकारिक हामी नै बन्छौं ।’ उनले भने । कार्यक्रममा उनले झलनाथ खनाललाई पनि कटाक्ष गरेका छन् । ‘केही अगाडि एक जना साथीले धरहरा प्रधानमन्त्री ओलीले बनाएका होइनन्, इन्जिनियरले बनाएका हुन् भनेका रहेछन् ।’ उनले भने, ‘अहिले केपी ओली नेतृत्वको सरकारले कोरोनाको खोप निशुल्क रुपमा दिने भनेर घोषणा गरिसकेको छ, फेरी यसलाई पनि ओलीले होइन डाक्टरले निशुल्क दिएका हुन् भन्न बेर लाग्दैन ।’

कमेन्टहरु
Loading...