नवनिर्वाचित संघको टोली निर्माणाधीन विमानस्थलमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको टोलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । पर्यटकीय नगरी पोखराको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिएको विमानस्थलको निर्माणमा चासो दिदै संघले शुक्रबार स्थलगत निरीक्षण गरी भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको हो ।

संघका नवनिर्वाचित अध्यक्ष नारायण कोइराला नेतृत्वको टोलीले निर्माणमा भइरहेको प्रगति, त्यसको अवस्थालगायतका विषयमा जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिएका छन् ।

प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनियर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए । संघका अध्यक्ष कोइरालाले विमानस्थल निर्माणका लागि पोखरा उद्योग वाणिज्य संघले २०३३ सालदेखि गरेको पहल र त्यस यताका रिले अनशनलगायतको स्मरण गर्दै निर्धारित मितिमा विमानस्थल सञ्चालनमा आउनुपर्नेमा जोड दिएका छन् । विमानस्थल तोकिएकै मितिमा सञ्चालनमा आए कोरोनाका कारण थलिएको पर्यटन व्यवसायसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभ पुग्ने उनको भनाई छ ।

विसं २०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण भएसँगै पोखरा उद्योग वाणिज्य संघले विमानस्थल निर्माणका लागि समयसमयमा प्रधानमन्त्री, पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायसँग निरन्तर छलफल एवं अन्तरक्रिया गर्दै आएकामा निर्माण कार्य अघि बढ्न नसकेपछि संघले बाध्य भएर विसं २०६८ मा रिले अनशनको नेतृत्व गरेको थियो । संघको अगुवाइमा भएको रिले अनशनमा पोखराका अधिकांश संघसंस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाएका थिए । रासस

कमेन्टहरु
Loading...