म्याग्दीमा कोरोना संक्रमण भएपछि होम आइसोलेसन बसेका १ जनाको जागिर गुम्यो

म्याग्दी । कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेसनमा बसेका म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरस्थित प्रभु बैंकको शाखामा कार्यरत १ जना कर्मचारीको जागिर गुमेको छ । एक्सलेन्ट सेक्युरिटी प्रालिमार्फत् प्रभु बैंकको सो शाखामा सुरक्षा गार्डका रूपमा काम गर्दै आएका अन्नपूर्ण ६ का ४१ वर्षीय शिव बरुवालको जागिर खोसिएको हो ।

ज्वरो र रुघाखोकी देखिएपछि गाउँपालिकाको स्वास्थ्य शाखामार्फत गत पुस १ गते पिसीआर परीक्षण गर्न उनले स्वाब दिएका थिए । ‘पुस ५ गते कोरोना संक्रमण पुष्टि भएपछि बैंक र सेक्युरिटी कम्पनीलाई जानकारी गराएर १४ दिन आइसोलेसन बसेको थिए ।’ उनले भने, ‘कोरोना जितेर बैंकमा आउँदा अर्कैलाई राखिसकेका रहेछन् ।’ रोग निको भए पनि जागिरलाई निरन्तरता दिन र कोरोना बीमाको रकम दाबी प्रक्रियामा कम्पनीले बेवास्ता गरेको बरुवालले गुनासो गरेका छन् । ‘टोल, छिमेकमा कोरोना संक्रमित भनेर दुव्र्यवहार सहनुप¥यो ।’ उनले भने, ‘आइसोलेसन बस्नु पर्दा जागिर गुमेकामा झनै पीडा थपिएको छ ।’

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुन सक्ने बरुवालको अनुमान छ । रोजगारीको खोजीमा उनले ४ वर्ष मलेसियामा काम गरेका थिए । बरुवालको परिवारमा बाबुआमा, श्रीमतीसहित ३ छोरी र २ छोरा छन् । कम्पनीले मासिक १८ हजार तलब दिने गरेको थियो ।

जागिर गुमेपछि बरुवाललाई घरव्यवहार चलाउन समस्या भएको छ ।

प्रभु बैंकको अन्नपूर्ण शाखाका प्रमुख विनोद केसीले सुरक्षागार्डको नियुक्ति, तलब, भत्तालगायत सबै जिम्मेवारी सम्बन्धित कम्पनीको भएको बताएका छन् । काठमाडौंमा रहेको एक्सलेन्ट सेक्युरिटीका कृष्ण गुरुङले बरुवाललाई जागिरबाट ननिकालेको जिकिर गरेका छन् । रासस

कमेन्टहरु
Loading...