पर्वत । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि सक्रिय रहेको भेटिएको छ । मोटरसाइकल र स्कुटरमा सवार चोरले बाटोमा हिँड्ने सर्वसाधारणको सिक्री तथा झोला लुछेर भाग्ने क्रममा पर्वतमा २ अभियुक्त पक्राउ परेपछि यस्तो गिरोह सक्रिय रहेको पाइएको हो ।पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरका २३ वर्षीय शिव विश्वकर्मा र २० वर्षीय सागर सापकोटा रहेका छन् ।
अभियुक्तले प्रयोग गर्दै आएको प्रदेश २–०३–०१०–प–१५०३ नंको स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले पुस २९ गते मोदी गाउँपालिका–८ पाउदीखेत भन्ने ठाउँमा सडकमा हिँडीरहेकी सोही ठाउँकी ७० वर्षीया महिलाको नगदसहितको झोला चोरी गरेर भागेका थिए । स्कुटर चढेर हिँडेका २ अपरिचित व्यक्तिले महिलाको झोला खोसेर भागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले कुश्मा नगरपालिका वडा नम्बर ११ पकुवास्थित सार्वजनिक स्थानमा उनीहरुलाई फेला पारेका थिए ।
उनीहरुको साथबाट चोरी गरेको १९ हजार १ सय ३०, झोला, चोरी गर्न मानिसलाई लठ्याउन प्रयोग गर्ने क्लोरोफर्म नामक रसायन तथा कैंचीसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिएका छन् । अस्पतालमा शल्यक्रियापूर्व बिरामीलाई बेहोस पार्न प्रयोग गरिने औषधिसमेत बरामद गरिएका कारण अभियुक्तले यस्तो औषधि प्रयोग गरी लुटपाट गर्दै आएको हुन सक्ने उनले बताए । छिमेकी बागलुङमा औषधि सुँघाएर लुटपाट भएका घटना यसअघि सार्वजनिक भएका थिए ।
जलजलामा विदेशबाट फर्केका युवालाई अनुदान
पर्वतको जलजला गाउँपालिकाले विदेशबाट फर्किएका युवालाई व्यवसाय सञ्चालन गर्न अनुदान वितरण गर्ने भएको छ । कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवालाई साना तथा घरेलु उद्यम, कृषि, पशुपालन, फलफूल खेती, ब्लक उद्योगलगायतका क्षेत्रमा लाग्न चाहेमा प्रविधि सहयोग गर्ने जनाइएको छ । गाउँपालिकाले युवालाई व्यवसाय सञ्चालन गर्न चाहेमा माघ १७ गतेभित्र निवेदन दिन आह्वान गरेको छ ।
जलजला गाउँपालिकामा कोभिडका कारण रोजगारी गुमेर फर्किएका युवाको संख्या करिब ४ सय रहेको अनुमान छ । रोजगारी गुमेर फर्केका युवालाई व्यवसाय गर्न चाहेमा योजनासहित निवेदन दिन अनुरोध गरिएको प्रमुख प्रसाशकीय अधिकृत अर्जुन शर्माले जानकारी दिएका छन् । उनले विदेशबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्न अनुदानमुखी कार्यक्रम ल्याइएको बताए ।
तत्कालका लागि गाउँपालिकाले अनुदान वितरण गर्न २ लाख उपलब्ध गराउने गरी बजेट विनियोजन गरेको छ । युवाको संख्या र मागका आधारमा अर्को वर्षदेखि बजेट बढाउने तयारी रहेको उनको भनाई छ ।
जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाले चालु वर्षको नीति तथा कार्यक्रममा युवालक्षित विभिन्न कार्यक्रम ल्याएको जानकारी दिएका छन् । कतिपय युवालाई नीति तथा कार्यक्रमअनुसारको कार्यक्रमले सम्बोधन गरिने मल्लको भनाई छ ।
गाउँपालिकाले कृषि तथा पशुपालनतर्फका कार्यक्रमबाट पनि अनुदान दिने कार्यक्रम तय गरेको उनले बताएका छन् । गाउँपालिकाले बाँझो रहेको जमिन भाडामा लिएर तरकारी तथा फलफूल खेती विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गरेको छ । यसका लागि गाउँपालिकाले सबै वडामा बाँझो रहेको र सार्वजनिक जग्गा कब्जा गरिएको बारेमा खोजी गर्न सुरु गरेको छ । रासस