काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४ सय ७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका ४ आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ । चालु आर्थिक वर्षभित्रै कुल १ सय ८२ मेगावाट क्षमताका थप ४ आयोजना सम्पन्न हुने तथा अन्य ५ आयोजना निर्माणाधीन अवस्थामा छन् । कम्पनीको स्वपूँजीतर्फ कुल १ हजार ५ सय ४० मेगावाट क्षमताका ५ आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा ९ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले जनाएको छ ।
चीन सरकारको स्वामित्वमा रहेको पावर चाइनासँगको सहकार्यमा १ सय ५६ मेगावाट क्षमताको माडी जलाशययुक्त जलविद्युत् आयोजना तथा ७ सय ५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भइसकेको पनि कम्पनीको भनाई छ । कम्पनीका अनुसार भारत सरकारको स्वामित्वमा रहेको एनएचपिसीसँगको सहकार्यमा २ ठूला आयोजना अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर गरी आयोजना पहिचानको काम भइरहेको छ ।
हाल कम्पनीको अधिकृत पूँजी ५० अर्ब, जारी पूँजी २२ अर्ब र हालसम्मको चुक्ता पूँजी १६ अर्ब ५० करोड पुगेको छ । कम्पनीले हालसम्म ८ अर्ब ३६ करोड कुल आम्दानी गरेको र त्यसमा ५ अर्ब २२ करोड खुद नाफा गरेको छ । कम्पनीले हालसम्म नेपाल सरकारलाई १ अर्ब ८५ करोड आयकर तिरेको छ भने शेयरधनीलाई ६ अर्ब २८ करोड लाभांश वितरण गरेको छ । लाभांशमध्ये नेपाल सरकारतर्फ २ अर्ब १६ करोड र अन्य शेयरधनीतर्फ ४ अर्ब १२ करोड वितरण भएको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०७८÷७९ सम्म कुल ३३३९ मेगावाट क्षमताका २३ आयोजनामा १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ । साथै, ऋण लगानीतर्फ कुल २,८१० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी १२ अर्ब ६७ करोड पु¥याउने लक्ष राखेको छ । कम्पनीले आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ १ सय अर्ब लगानी गर्ने लक्ष्य राखेको पनि जनाएको छ ।
अघिल्लो वर्षमा ११ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय भएअनुसार सरकारका तर्फबाट ५ अर्ब ५० करोड शेयरबापतको रकम प्राप्त भइसकेको र ३ वटा वित्तीय संस्थाबाट ३ अर्ब ३० करोड प्राप्त हुने प्रक्रियामा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।
यसै आवभित्र सर्वसाधारणलाई २ अर्ब २० करोड बराबरको अग्राधिकार शेयर जारी गर्ने कार्यका लागि कम्पनीको रेटिङ भइरहेको र यही माघ महिनाभित्रै अग्राधिकार शेयरका लागि सूचना जारी गर्ने तयारी भइरहेको पनि पोखरेलले जानकारी दिएका छन् । रासस