भुकम्प सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न

पोखरा । २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा पोखरा महानगरपालिकाले भुकम्प सुरक्षा सम्बन्धी अभिमुखीकरण सम्पन्न गरेको छ । महानगरले पोखराका विभिन्न क्याम्पसमा फाइनल वर्ष अध्यनरत इञ्जिनियर, पोखरा महानगरपालिकामा कार्यरत प्राविधिक एवम् विषयसम्वद्ध शाखा महाशाखामा कार्यरत कर्मचारीहरुको उपस्थितीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै महानगर प्रमुख मानबहादुर जिसीले हाम्रो आफ्नै कामचलाउ काम गराईको प्रवृतिले कुनै दिन ठूलै जोखिम मोल्नुपर्ने खतरा आउनसक्ने भएकाले सचेत रहनुपर्ने आवश्यकता औंल्याए । भुकम्पीय विपद् जुनसुकै बेला आउन सक्ने भएकोले प्राविधिकहरुले अहिले नै अपग्रेटेड भएर बस्नुपर्ने जिसीको धारणा थियो ।

उनले भुकम्पका विषयमा सेवा प्रदायक निकाय सचेत र जानकार रहनसके मात्र सेवाग्राहीलाई सो अनुरुपको सेवा प्रदान गर्न सक्षम हुने भएकाले महानगरका प्राविधिकलाई थप जिम्मेवार बन्न आग्रह गरे ।

कार्यक्रममा भुगर्वविद् डा. सोमनाथ सापकोटाले भुकम्प र यसको जोखिम तथा सावधानीका उपायहरुका सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले सरकारले देशैभर एकैप्रकारको विल्डिङ कोड लागु गर्नु एकप्रकारको भूल भएको उल्लेख गरे ।

ताप्लेजुङको चट्टान र पोखरा वा काठमाडौंको माटो तथा भू–बनोट एकै प्रकारको नभएकोले कहाँ कस्तो प्रकारको बनोट रहेको छ, सोही अनुरुपको विल्डिङ कोड लागु हुनुपर्ने बताए । उनले भुकम्प मापन र सचेतनामा नेपालले पछिल्ला दिनहरुमा उल्लेख्य प्रगति गरेको पनि उल्लेख गरे । ‘बहुप्रकोपीय विपदमा भुकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ माघ २ गते देशभर भुकम्प सुरक्षा दिवस मनाइएको छ ।

कमेन्टहरु
Loading...