माइनस डिग्रीमा किक र पञ्च हान्दै बुदोकैदोको विन्टर क्याम्प

दिपक के श्रेष्ठ/कास्की

जाडोमा चिसो खोज्दै मार्शल आर्टको एक टोली कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अष्ट्रेलियन क्याम्पमा पुगेको छ । यतिबेला यहाँको तापक्रम झण्डै माइनस डिग्री पुग्न लागेको छ । यसैबीच, देशभरबाट फुलकन्ट्याक्ट कराँते ‘बुदोकैदो’को टोली विन्टर क्याम्पको प्रशिक्षणमा व्यस्त छ । टोलीले अबको एक साताको यहाँको चिसोमा बिहान, बेलुकी प्रशिक्षण लिनेछ ।

नेपालमा मार्शल आर्ट विधाअन्तरगत कराँतेको कुरा गर्दा प्रायः क्योकुशिन र सितेरियोको नाम आउँछ । जसको उत्पति जापानमा भएको मानिन्छ । कराँते, तेक्वान्दो, उसुजस्ता विदेशबाट नेपालमा भित्रिएको खेलबीच नेपालको पनि आफ्नै मार्शल आर्टको विधा छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । र, त्यही खेल हो, बुदोकैदो ।

बुदोकैदो नितान्त मौलिक फुलकन्ट्याक्ट कराँते हो । यहाँ ‘हुस्स्स्स्’ चल्दैन । यसमा आबद्ध खेलाडीले तालिमका दौरान ‘नमस्ते’ भनेपछि बल्ल सुरु हुन्छ । नेपालमा शान्तिको प्रतीक बुद्ध जन्मिएकाले उनैको नामबाट बुदोकैदो राखिएको वरिष्ठ प्रशिक्षक काजीमान श्रेष्ठ बताउँछन् । २०४६ देखि यस विधामा रहेका श्रेष्ठ २०५३ देखि वरिष्ठ प्रशिक्षकको भूमिकामा छन् । यसको आधिकारिक संस्था ‘नेपाल बुदोकैदो एशोसिएसन’ हो । जसको प्रेसिडेन्ट श्रेष्ठ आफै हुन् ।

यो नेपालको मौलिक फुलकन्ट्याक्ट कराँते हो’ श्रेष्ठ भन्छन् ‘यसमा लाखे, भैरव, महाकाली नृत्यको समायोजन गरिएको छ, खुकुरी र हँसिया चलाउने कला बुदोकैदोको अर्काे विशेषता हो ।’ यसमा नेपाली र अंग्रेजी भाषाको मात्र प्रयोग हुन्छ भने पोसाकको दायाँ पाखुरामा नेपालको झण्डा अंकित हुन्छ । श्रेष्ठका अनुसार विश्वका २७ देशमा बुदोकैदोको शाखा छ । त्यस्तै, अन्तर्राष्ट्रिय प्रतियोगितासमेत भइरहेको छ ।

अहिले क्याम्पमा भएका खेलाडी र प्रशिक्षकहरु यही माघमा हुने राष्ट्रिय प्रतियोगिताको तयारीमा आएको श्रेष्ठले बताए । गर्मीमा तातो र जाडोमा चिसो तापक्रममा क्याम्प सञ्चालन हुँदै आएको छ ।

वर्षमा एकपटक समर क्याम्प र विन्टर क्याम्प चलाइछ । अर्का प्रशिक्षक वीरकृष्ण महर्जन एकपटक अष्ट्रेलियन क्याम्प घुम्न आएका थिए । उनलाई यहाँको वातावरण मन परेपछि यस पटकको विन्टर क्याम्प यहाँ जुरेको हो । ‘म आफै एक्साइटेड छु’ महर्जनले भने ‘यति नजिकै हिमाल छ, शान्त वातावरण र चिसोले खेलाडी पनि रिफ्रेस भएका छन् । यसअघि पोखरामा क्याम्प चलाउँदा भीडभाडले सोचेजति प्रभावकारी नभएको उनले अनुभव सुनाए ।

प्रशिक्षक महर्जन फोर डान ब्ल्याकबेल्टसँगै एशोसिएसनका भाइस प्रेसिडेन्ट हुन् । क्याम्पमा ३३ जना सहभागी छन् । जसको खर्च फेडेरेशन र खेलाडीले बराबर व्यहोर्नेछन् । क्याम्पमा प्रायः प्रशिक्षक छन् ।

क्याम्पमा सहभागी शान्ति तामाङ ब्ल्याकबेल्ट हुन् । १४ वर्ष अघिदेखि निरन्तरता दिएकी सेकेन्ड डान लामालाई चिसो, हिमाल र तालिमको सम्मीश्रणले पुलकित बनाएको छ । ‘जति खेलेपनि थकान महशुस भएको छैन’ भन्दै तामाङले यसपछि परिवारसहित यहाँ आउने बताइन् । सुरुमा ४५ केजीबाट खेल्न सुरु गरेकी तामाङले हाल फ्रिस्टाइलबाट खेल्छिन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा काँस्य पदक जितेकी छिन् ।

१२ वर्ष अघिदेखि बुदोकैदोमा लागेका सागर विष्टले राष्ट्रिय प्रतियोगितामा २ वटा स्वर्णपदक जितेका छन् । सुदूरपश्चिम कञ्चनपुरका विष्ट यहाँको हावापानीमा प्रशिक्षणरत रहँदा थप उर्जा मिलेको बताउँछन् । ‘यस्तो गज्जबको ठाउँमा कुनैपनि देशका खेलाडीले तालिम लिन पाउँदैनन् होला’ उनले भने ‘क्याम्प सेलेक्सन गज्जब लाग्यो ।’

कमेन्टहरु
Loading...