निर्वाचन भएमा ओली आफैं हार्छन्, त्यसैले हार्ने निर्वाचन उनले गर्दैनन्ः डा.भट्टराई

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाएको आरोप लगाएका छन् ।

पोखरामा पार्टीले आयोजना गरेको सरकार विरोधी कार्यक्रममा बोल्दै उनले ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक कदम उठाएको आरोप लगाएका हुन् । २९ वर्ष लडेर, सहीद भएर ल्याएको लोकतन्त्रलाई धरापमा पारिएको उनले बताए । ‘अहिले आएर किन जनयुद्ध लडिए, किन हाम्रा आफन्त तथा साथीभाइ सहिद भएछन् भन्ने दिन आएको छ ।’ उनले भने ।

आम जनताको अधिकार सुरक्षित नभएसम्म ओली प्रवृत्तिविरुद्ध निरन्तर लडिरहने उनले बताए । ओलीविरुद्धको लडाईंमा हिम्मत हार्न नहुने उनको भनाई छ । संविधान अपूर्ण भए पनि जोगाउनु सबैको जिम्मेवारी भएको अध्यक्ष भट्टराईले बताएका छन् । सबैको अधिकार समावेश भएको संविधान नभएको उनले बताए । संसद पुनःस्थापना गर्न संघर्षका लागि एकजुट हुन उनले आग्रह गरेका छन् ।

अहिले प्रधानमन्त्री ओलीले न्यायधीशलाई धम्क्याएको र आफ्नो आसेपासेलाई नियुक्त गरेको नेता भट्टराईले आरोप लगाएका छन् । ‘त्यस्तै अहिले केही भन्न सकिन्न, जुन हिसाबले ओलीले आसेपासेलाई नियुक्त गर्नुभएको छ र प्रधानन्यायधीषलाई धम्क्याउनु भएको छ, यहाँ के हुन्छ भन्न सकिने अवस्था छैन ।’ उनले भने । प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा संविधानसम्मत् नभएको उनले बताए ।

ओलीले अपराध गरेकाले कारवाही हुनुपर्ने उनको भनाई थियो । ओलीले विघटन गरेको अपराध गरेको उनले आरोप लगाएका छन् । ओलीले निर्वाचन पनि नगर्ने उनले दावी गरे । ‘सबैले ओलीले निर्वाचन गरेको खण्डमा हार्छन् भनिरहेका छन् ।’ उनले प्रश्न गर्दै भने, ‘आफैं हार्ने गरेर ओलीले निर्वाचन सम्पन्न गराउँछन् भनेर विश्वास गर्न सक्नुहुन्छ ?’

अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने उनले कार्यक्रममा बताए । यो संविधान नेपाली जनता आफैंले बनाएकाले प्रतिनिधिसभा विघटन हुन नसक्ने उनले दावी गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाएर कारवाही भए जस्तै जनताले पनि ओलीलाई कारवाही गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीलाई कारवाही गर्न कांग्रेसले समेत खुट्टा कमाउन नहुने उनको भनाई छ ।

कमेन्टहरु
Loading...