संविधानमा हुँदै नभएको धारालाई टेकेर प्रतिनिधिसभा विघटन गरियोः जसपा नेता भण्डारी

पोखरा । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी सदस्य शरदसिंह भण्डारीले हिमाल पहाड तथा तराईका पछाडि पारिएकाहरुको पार्टी जनता समाजवादी पार्टी भएको बताएका छन् ।

पोखरामा भएको सरकारविरुद्धको कार्यक्रममा बोल्दै उनले नेपाल तथा नेपालीको भविष्यका लागि आफूहरुको पार्टी भएको दावी गरेका हुन् । आगामी दिनमा लोकतन्त्रको रक्षाका लागि जनता समाजवादी पार्टीको जिम्मेवारी भएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली व्यक्ति नभएर प्रवृत्ति भएको उनले कार्यक्रममा बताएका छन् । प्रतिनिधिसभा विघटन भए पश्चात आम जनतामाथि घात भएको उनले आरोप लगाएका छन् ।

२ तिहाई मत दिएर जनताले ओलीलाई जिम्मेवारी सुम्पिएको भए पनि त्यो पुरा हुन नसकेको उनको भनाई थियो । जनताले दिएको २ तिहाई जनमतको कम्युनिस्ट सरकारले गर्न नसेकेको उनले आरोप लगाएका छन् ।

आफूहरुले नेपालका संविधान नमानेको नभएर नेपालका उत्पीडित जनतालाई समावेश नगरिएको संविधानको धाराहरुलाई नमानेको समेत उनले कार्यक्रममा स्पष्ट पारेका छन् । जनता समाजवादी पार्टीले सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक तथा अलोकतान्त्रिक भएको मानेको नेता भण्डारीले स्पष्ट पारेका छन् ।

संविधानमा प्रतिनिधिसभा विघटन गर्न पाउने धारा नै उल्लेख नभएको उनको भनाई थियो । ‘संविधानमा हुँदै नभएको धारालाई टेकेर प्रतिनिधिसभा विघटन गरिएको छ । यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्छ ।’ उनले कार्यक्रममा आक्रेशित हुँदै भने ।

कमेन्टहरु
Loading...