बिहान ‘मन्त्री पद छाड्छु’ भन्ने लम्सालले बेलुकी बोली फेरे

गन्थन डेस्क

सार्वजनिक महत्वको विषयलाई लिएर मंगलबार गण्डकी प्रदेशको विशेष अधिवेशनमा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आफु अब संघमा गएर चुनाव लड्ने बताए ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङतर्फ इशारा गर्दै मन्त्री लम्सालले आफ्नो सट्टा मन्त्री खोज्न अनुरोध गरे । उनले आफ्नो विकल्प खोज्नुस् भन्दै मंसिरमा हुने चुनाव लड्न संघमा जाने र टिकट मिलाइदिन पनि आग्रह गरे ।

अधिवेशनमा सार्वजनिक महत्वको प्रस्तावउपर उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले मध्यावधि निर्वाचन भएरै छाड्ने भन्दै अब केन्द्रको राजनीतिमा जाने इच्छा भएको भन्दै प्रदेश सरकारको मन्त्री पद छाड्ने उल्लेख गरेका हुन् ।

‘मुख्यमन्त्रीज्यू, चुनाव लाग्यो अब प्रदेशमा बस्दिन, मेरो ठाउँमा मान्छे खोज्नुस्’ उनले भनेका थिए ‘अब यहाँ को बस्छ, म त झन् केन्द्रको मान्छे हो ।’ तर उनकाे याे बाेली केही क्षणमै फेरिएकाे छ ।

प्रदेश सभामै मुख्यमन्त्री र माननीयहरुको सामुन्ने बोलेका मन्त्री लम्सालले अहिले आएर आफुले उक्त मनशायकासाथ नबोलेको बताएका छन् । मन्त्रीको भनाइलाई ढाकछोप गर्दै उनको निजी सचिवालयले प्रेस विज्ञप्ती निकालेको छ ।

सचिव माधव पराजुलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा मन्त्री लम्सालले ‘मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने भएकाले सबैलाई तयार रहनुहोस्’ भन्ने भावले उक्त कुरा बोलिएको उल्लेख छ ।

सभामा केही सदस्यले मंसिरमा निर्वाचन हुँदैन भन्ने भनाई राखेपछि त्यसको प्रतिवादस्वरुप मन्त्री लम्सालको उक्त अभिव्यक्ति आएको सचिवालयको विज्ञप्तीमा जनाइएको छ ।

कमेन्टहरु
Loading...