गुनासो र अभावबीच मैदानमा ओर्लिए दृष्टिविहीन क्रिकेटर

रिना थापा । गत चैतको दोस्रो हप्तादेखि बन्द रहेको खेलकुद गतिविधि राष्ट्रिय खेलकुद परिषद् नेपालको निर्णयसँगै मंसिर १ गतेदखि सुरु भएको छ । यहीबीच खेलाडीहरु प्रशिक्षण तथा खेलकुदमा मैदान फर्किएका छन् ।

विभिन्न खेलकुद कार्यक्रमका तालिका सार्वजनिक हुँदैछन् । खेलाडी आठ महिनापश्चात् मैदानमा दौडन पाउँदा खुशी छन् । यसैअनुरुप पोखरा रंगशालामा पनि खेलको प्रशिक्षण सुरु भइरहेको छ । नेपाल नेत्रहीन क्रिकेटसंघद्वारा माघ ५ देखि ८ गतेसम्म भैरहवामा हुने ‘रोनाल्ड म्याकुली कप नेत्रहीन क्रिकेट प्रतियोगिता’मा सहभागी हुन गण्डकी प्रदेशबाट १२ खेलाडी प्रशिक्षणरत छन् ।

नेत्रहिन क्रिकेट संघ कास्की र क्रिकेट संघ कास्कीको समन्वयमा १० खेलाडीले प्रशिक्षण लिइरहेका छन् । हाल म्याग्दी, लमजुङ, स्याङ्जा र कास्कीबाट खेलाडी तयारी अवस्थामा छन् । जसमध्ये ४ जना कास्कीबाट छन् ।

यही प्रतियोगितामा सहभागी हुन रुपा गाउँपालिका १ का २२ वर्षीय सुनिल रानामगर अभ्यासरत छन् । २०६५ सालदेखि क्रिकेट खेल्न सुरु गरेका उनले भारत र पाकिस्तामा मैत्रीपूर्ण अन्तराष्ट्रिय खेल खेलिसकेका छन् । उनले पाकिस्तान भएको म्याचमा ‘म्यान अफ दी म्याच’को अवार्ड पाएका छन् । हाल उनी टिम क्याप्टेनको भूमिकामा रहेका छन् ।

प्रशिक्षणकै क्रममा रंगशालामा भेटिएका उनले दृष्टिविहीनको क्रिकेट भनेर सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे । सरकारकै दृष्टिकोणकाकारण उनी क्रिकेटमा भविष्य खोज्न चाहेपनि निराश भएको सुनाउँछन् । ‘नेपालमा दृष्टिविहीन क्रिकेट आशातितरुपमा अघि बढ्न नसक्दा यसैमा करिअर खोज्न गाह्रो छ’ रानामगरले भने ।

पृथ्वीनारायण क्याम्पसमा स्नातकतह अध्ययनरत उनको शौख संगीतमा पनि छ । उनले किबोर्ड, अक्टोप्याड बजाउँछन् । संगीतलाई दोस्रो रोजाइमा राखेर उनी क्रिकेटमै बढी व्यस्त छन् । ‘यो म्याच खासमा फागुनमा हुनुपर्ने थियो कोरोनाले गर्दा पछाडि धकेलियो’ उनले भने त्यसैपनि हाम्रो प्रतियोगिता लामो अन्तरालमा हुन्छ ।’

रंगशालामा बिहान ११ बजेदेखि ४ बजेसम्म उनीसहित टिमले प्रशिक्षण लिन्छन् । प्रशिक्षणका दौरान खेलाडीहरु संघले दिने खाजामा सिमित भएका छन् । रानामगर भन्छन् ‘हामीलाई उपचारको व्यवस्था र मेडिकल किटको आवश्यकता छ ।’ तालिमका दौरान साथीहरुलाई चोट लागे प्राथमिक उपचारमै समस्या हुने उनले सुनाए । ‘प्रतियोगिता पनि खासै हुँदैन, १ वा २ वर्षको अन्तरमा हुन्छ,’ उनी भन्छन्, ‘बेलाबेला हामी नै मैत्रीपूर्ण खेल खेल्छौं, त्यसमै सिमित छौं ।’

नेपालमा दृष्टिविहीन क्रिकेटको इतिहास खोतल्दा ९० को दशकतिर सुरु भएको अनुमान गर्न सकिन्छ । शिक्षक आदान प्रदान कार्यक्रम अन्तरगत भारत गएका दृष्टिविहीन विद्यालयका शिक्षकहरूले त्यहाँबाट नेपालमा क्रिकेट भित्र्याएको बुझिन्छ । सुरुवाति दिनमा बज्ने बल र ब्याटको प्रयोग गरिएको खेल सन् २००६ मा पाकिस्तान दृष्टिविहीन क्रिकेट परिषद्को प्राविधिक सहयोगपछि नेपालमा विधिवत प्रवेश भएको हो । बज्ने बल र नदेख्नेहरूलाई तीन समूहमा बिभाजन गरी खेल खेलिन्छ । यसमा ‘बी वान’ अर्थात् पूर्णरुपमा देख्न नसक्ने, ‘बी ट’ थोरै देख्न सक्ने र ‘बी थ्री’ अर्थात् धमिलो दृष्टि भएका खेलाडी भनेर चिनिन्छ ।

२०३२ सालदेखि आधिकारिकरूपमा नेपालमा अपाङ्गता भएका व्यक्तिहरूले आफुलाई खेलकुदमा समावेश गर्न थालेका हुन् । यसबीच खेल र खेलाडीलाई यथेष्ठ सहयोग उपलब्ध गराउन नसक्दा रानामगरजस्ता खेलाडीहरुले सफलता पाउन सकेका छैनन् । सरकारले खेलकुदलाई प्राथमिकता नदिएको प्रमाण यस आर्थिक वर्षमा खेलकुदका लागि छुटइएको बजेटबाटै प्रष्टिन्छ । यसपटक कुल बजेटको ०.१६ प्रतिशत रकम खेलकुदलाई छुट्याइएको छ ।

नेत्रहीन क्रिकेट संघ कास्कीका उपाध्यक्ष अक्षय खड्गीले खेलाडी र संस्थालाई सबैभन्दा बढी बजेटकै समस्या रहेको बताए । उनी भन्छन्, ‘आर्थिक समस्या नै प्रम्ुख हो, खेल सामग्री जुटाउनै समस्या छ ।’ सरकारले दृष्टिविहीन क्रिकेटरलाई तलब भत्ताको व्यवस्था गरे सहज हुने उनको धारणा छ । ‘सरकारले सबैलाई हेर्न नसक्ला तर उत्कृष्ट खेलाडीलाई भएपनि पारिश्रमिकको व्यवस्था गर्नु पर्छ’ खड्गी भन्छन् ‘खेलाडी छनोट गरेर उनीहरुलाई सकेको पारिश्रामिक छुट्याउँदा राम्रो हुन्थ्यो, यसले प्रोत्साहन मिल्थ्यो ।’

टिमले गत २० गतेबाट प्रतियोगिताको तयारी सुरु गरेको हो । टिमअन्तरगत बि वानमा सिजन गुरुङ, राम गुरुङ र अन्जन बस्ताकोटी रहेका छन् । बि वान क्याटोगरीका १९ वर्षीय अन्जन बस्ताकोटीको गुनासो छ ‘लामो अन्तरालमा प्रतियोगिता हुँदा चाहेर पनि क्रिकेटमा भविष्य खोज्न गाह्रो भएको छ ।’

जन्मिएको १० महिनामै आँखामा क्यान्सर संक्रमण भएर ज्योति गुमाएका उनले क्रिकेट खेल्न सुरु गरेको ६ वर्ष हुँदैछ । यसबीच उनले प्रदेशस्तरीय र मैत्रीपूर्ण खेल खेलेका छन् । बजेटको अभाव र लकडाउनले लामो समयपछि मैदानमा ओर्लिएका उनले केही असहज महशुस गरेका छन् ।

उनको बुझाइमा खेलमै भविष्य खोज्नु गाह्रो छ । पाएसम्म क्रिकेटलाई निरन्तर दिने उनी अन्य आयमूलक कामको खोजीमा छन् । यस्तै, अभाव र असहज परिस्थितिमा पनि यतिबेला रंगशालामा दृष्टिविहीन क्रिकेटरहरु अभ्यासरत छन् । नजिकिँदै गरेको प्रतियोगितामा सहभाग हुन पाउँदा उनीहरुमा खुशी फर्किएको छ । लामो समयपछि प्रतिभा देखाउने मौका मिलेको छ । उनीहरुले अभ्यासबीच समूल स्वरमा भने, ‘सरकारले खेल्ने र बाँच्ने वातावरण मिलाइदिनु प¥यो ।

खेलकुद परिषद्मा अपाङ्गता भएकाहरूको खेलकुदसम्बन्धी कुनै नीति नहुनु तथा अवैज्ञानिक खेलकुद नीतिहुनु दुर्भाग्यपूर्ण हो । यद्यपी नेत्रहीन क्रिकेट सङ्घको नेतृत्वमा नेपाली नेत्रहीन क्रिकेट टोली र खेलाडीले भने आफनो प्रतिभा देखाउने मौका भने पाएका छन् ।

तर एउटा संघको भरमामात्र अपाङ्गता भएका व्यक्तिलाई खेलकुदमा उकास्न भने सकिदैन । तर्सथ सरकार र सम्बिन्धित निकायले खेलकुद हरेक नागरिकको अधिकार हो भन्ने स्मरण गरेर सबै खेलाडीलाई प्राथमिकतामा राख्न जरुरी छ ।

राज्यले अपाङ्गता भएका व्यक्तिहरूले खेल्न सक्छन् र उनीहरूले समेत अन्य खेलाडीहरूसरह राष्ट्रका लागि खेल्न सक्छन् भन्ने कुरामा विश्वास गर्नुपर्दछ ।

कमेन्टहरु
Loading...