पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षीय अनेरास्ववियुले पोखराको पृथ्वीनारायण क्याम्पसमा सरकारविरुद्ध विरोध कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरे पश्चात अनेरास्ववियुले आन्दोलनका कार्यक्रमहरुको घोषणा गरेको थियो । सोही क्रममा दोस्रो चरणको आन्दोलन स्वरुप प्रचण्ड–नेपाल पक्षीय अनेरास्ववियुले पिएन क्याम्पसमा विरोध कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले सरकार गठन हुन नसकेको परिस्थिति नभएको र संविधानमा प्रतिनिधिसभा विघटनको परिकल्पना नगरिएको बताएका छन् । मानिस विवेकशील प्राणी भएको बताउँदै थापाले नेपाली नागरिक पानीको बेग अनुसार बग्न नहुने बताए । अधिवक्ता थापाले एउटा व्यक्तिको सनकको भरमा संविधान विघटन हुन नपाउने बताएका छन् ।
संविधानमार्फत् प्राप्त गरेको उपलब्धिलाई जोगाउनु अहिलेको आवश्यकता भएको उनको भनाई थियो । अधिवक्ता थापाले कुनै बेला संगै मिलेर जाने दिन आउन सक्ने भन्दै कसैलाई पनि नमिठा शब्द प्रयोग नगर्न आग्रह गरेका छन् ।
पार्टीका नेता तुलबहादुर गुरुङले संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने तथा मध्यावधि निर्वाचन घोषणा गर्ने अधिकार नभएको बताएका छन् । निरंकुश शासन ल्याउनका लागि प्रधानमन्त्री ओली अगाडि बढिरहेको उनले आरोप लगाए ।
मुलुकलाई अस्थिरताबाट जोगाउनका निम्ति पनि आन्दोलनको आवश्यक भएको उनले बताए । प्रधानमन्त्रीको प्रतिगामी कदमलाई रोकेर संसद पुनः स्थापनाका लागि संघर्ष गर्नुपर्ने समेत उनले बताएका छन् ।