पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले नेपालीका लागि कांग्रेसमात्र भरपर्दो पार्टी भएको दावी गरेका छन् ।
पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले पछिल्लो निर्वाचनको समयमा भने नेपाली जनताले कांग्रेसलाई विश्वास गर्न नसकेको स्वीकार गरे । नेपाली कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेको बताउँदै कास्की सभापति केसीले भ्रममा नपर्न समेत सबैलाई आग्रह गरेका छन् ।
कोरोना महामारीले नेपालीको जनजीवन अस्तव्यस्त भएको अवस्थामा नेपाली राजनीतिलाई समेत कम्युनिस्ट सरकारले अस्तव्यस्त बनाएका आरोप लगाएका छन् । कम्युनिस्टले पाएपछि खाइहाल्नुपर्छ भन्ने तथा कांग्रेसले बचाउनुपर्छ भन्ने नै २ पार्टीबीच भिन्नता रहेको उनले बताए । कांग्रेसले तय गरेको अर्थतन्त्रले नै अहिले देश चलिरहेको उनको दावी थियो । कम्युनिस्ट सरकारले अरबौंको सुविधा लिएको उनले बताएका छन् ।
नेपाली कांग्रेसले राणा, पञ्चायत, राजा फालेको बताउँदै उनले यो व्यस्थाको कुनै आवश्यक नभएको बताएका छन् । संविधानमा नभएको धारालाई टेकेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको उनको आरोप थियो । मलाई विपक्षीले सहयोग गरेनन्, अविश्वासको प्रस्ताव दर्ता गर्न लागे भन्दै प्रतिनिधिसभा विघटन गर्न पाउने अधिकार संविधानभित्र नभएको उनले बताएका छन् । हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री ओलीले तानाशाह देखाएको उनको आरोप रहेको थियो ।
नेपालका कम्युनिस्टलाई जनताले उनीहरुको नामले विश्वास गरेको उनले बताएका छन् । कांग्रेसबाट निर्वाचनमा धेरै जना हारेको भए पनि आफूहरुले आँसु नदेखाएको उनको भनाई थियो । कम्युनिस्ट सरकारसंग आफूहरु नलड्ने तथा नागरिकले नै हराउने उनले दावी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिरामी भएर किड्नी फेरेको तर भ्रष्टाचारलाई प्रसय दिएको आरोप लगाएका छन् ।