पोखरा । नेवि संघ कास्कीका पूर्व सभापति नवीन सिग्देलले आजको यो प्रदर्शनले आफूहरुले पद तथा सरकार नपाउने तथा भोट पनि नमागेको स्पष्ट पारेका छन् । पोखरामा आयोजित कार्यक्रममा बोल्दै सिग्देलले भोट तथा पद नमागेको भन्दै आफूहले यो प्रदर्शनमार्फत् सरकारलाई खबरदारी गरेको उनको भनाई थियो । आफूहरुको आन्दोलनबाट नभाग्न र सामना गर्न उनले सरकारलाई आग्रह गरे ।
२ तिहाईको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको भए पनि उक्त साथलाई आत्मसात गर्न नसकेको उनको आरोप थियो । साथलाई नकारात्मक सोचेर कम्युनिस्ट सरकार हाल तानाशाही बन्दै गएको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपश्चात् नेपालको राजनीतिमा फेरी एक पटक कालो बादल मडारिएको उनले बताएका छन् । ओली सरकारले पार्टीभित्रको किचलोलाई अगाडि सारेर जनताको भावनामाथि खेलवाड गरेको समेत उनले आरोप लगाए ।
नेकपा भित्रभित्रै फुटेर टुक्रा–टुक्रा भइसकेको अवस्थामा रहेको उनको दावी थियो । कम्युनिस्ट सरकारले नागरिकको भावनालाई नबुझेकाले कांग्रेस फेरी सडकमा आएर आन्दोलन गर्नुपरेको बाध्यता उनले सुनाए ।