भगौडाहरुको कुरा सुनेर हिंड्ने फुर्सद हामीलाई छैनः प्रधानमन्त्री ओली

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाने र गौरीफन्टा नाकाका विषयमा भारतसंग कुरा राख्ने बताएका छन् । प्रतिनिधिसभा विघटन पश्चात् पहिलो पटक राजधानी बाहिरको कार्यक्रमलाई सम्बोधन गर्न आज धनगढी पुगेका प्रधानमन्त्री ओलीले गौरीफन्टा नाकाका विषयमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतसंग कुरा गर्ने तथा सुदुरपश्चिम प्रदेशमा विकास निर्माणका कामहरु अगाडि बढ्ने बताएका हुन् । आफ्नो मुख्य उद्देश्य नै मुलुकलाई समृद्ध बनाउनु, भष्टाचार अन्त्य गर्नु तथा सभ्य देश बनाउने रहेको बताएका छन् । प्रचण्ड–नेपाललाई इंगित गर्दै उनले भने, ‘तपाईंहरुले विभिन्न भगौडाका कुराहरु सुन्न भएको छ होला ।’ उनले भने, ‘अश्लील गाली गर्ने तथा पार्टी बैठकमा सहभागी नभएर हिंड्ने भगौडाहरुको कुरा सुन्नु जरुरी छैन ।’

सडकमा गएर हामी यहाँ छौं भन्दै हिंड्ने प्रचण्ड–नेपाल समुहको गाली गलौज, अश्लील नारा तथा विभिन्न आरोप–प्रत्यारोप गर्दै हिंड्नेहरुको कुरा सुन्ने आफूहरुसंग फुर्सद नभएको भन्दै आफ्नो ध्यान देश विकासतर्फमात्र भएको उनको दावी थियो । प्रदेशको विकासका लागि बजेटको अभाव नहुने समेत उनले बताएका छन् । कार्यक्रममा उनले २/४ जना पार्टी छोडेर जाँदैमा पार्टी कमजोर नहुने उनले बताएका छन् ।

‘३ करोडमा २ सय ६५ जना गयौं भनेर उहाँहरुले भन्नुभयो ।’ उनले भने, ‘तर उहाँहरु गएर विकासका कामहरु रोकिंदैनन् ।’ पार्टी छोडेर जानेहरु आफन्त तथा परिवारलाई छाडेर जनताको विकासका लागि हेर्न उनले आग्रह गरेका छन् । ‘पहिले तपाईंहरुको आँखाले छोरी ज्वाई, भाइ, भतिजा सबैलाई छाडेर जनतालाई हेर्नुस् ।’ उनले भने, ‘आफन्त नभएका कोही पनि हुँदैनन्, मेरा पनि छन्, कुनै पनि स्थानमा मेरो आफन्त ल्याएर देखाउनुस्, भेट्नुहुन्न । किनकि म जनताका लागि काम गर्ने मान्छे हुँ ।’ काम लाग्छ कि भनेर आफूले प्रचण्डलाई पार्टीमा ल्याएको प्रधानमन्त्री ओलीको दावी थियो । प्रतिनिधिसभा विघटन अंसवैधानिक रहेका भन्दै हल्ला फिजाइरहेकालाई एक पटक संविधान राम्रोसंग पढ्न आग्रह गरेका छन् । प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने समेत उनले बताए ।

केहीले प्रधानमन्त्रीले चुनाव हुँदैन भन्दै हल्ला फिजाइरहेकोमा उनीहरुको कुरा नसुन्न उनले सबैलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले निर्वाचन तयारी सुरु गरिसकेको उनको भनाई थियो । भ्रष्ट, देशद्रोह तत्व तथा विदेशीको इशारामा चल्नेलाई गाउँगाउँबाट लखेट्नुपर्ने उनले बताए । ‘त्यस्ता तत्वहरुलाई गाउँबाट लखेट्न उनीहरुलाई भोट नहाल्नुस्, अरु केही गर्नु पर्दैन, उनीहरु आफै लखेटिन्छन् ।’ उनले भने ।

कमेन्टहरु
Loading...