समाजमा स्वीकार गर्ने व्यक्ति बढ्दै छन्ः गुरुङ

पोखरा । विसं २०३५ पुष ५ गते लमजुङमा सञ्जीव गुरुङको जन्म भयो । अर्थात् निल हिरा समाजकी अध्यक्ष पिंकी भनेर चिनिएकी उनी जन्मिदा पुरुष भएता पनि अहिले महिलाको जीवन बिताइरहेकी छिन् ।

सँगै नेपालमा सीमान्तकृत यौन अभिमुखीकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरूमा पनि विशेष गरी तेस्रोलिंगी वर्गको हक अधिकारका निम्ति गैरसरकारी संस्थाको स्थापनाकाल सन् २००१ देखि नै आबद्ध रहेर लडेकी छन् । अहिले उनी त्यस संस्थाकी अध्यक्ष हुन् । हाम्रा गन्थन सहकर्मी रिना थापाले उनीसँग गरेको कुराकानी उनकै शब्दमा ।

१/ सञ्जीव गुरुङदेखि पिंकी गुरुङ बन्दाको सघंर्ष ?

सञ्जीवबाट पिंकी बन्दाको संघर्ष एकदमै संघर्षमय थियो । त्यति बेला अब एलजिबिटीको अभियान नै हामीले सुरु गरेको हो सुरुआतमा । त्यो समयमा नेपालमा एलजिबिटी समुदाय वा फरक लैंगिग पहिचान र फरक यौनिक पहिचान भएका समदुय छ भनेर न समाजले देखेको थियो न राज्यलाई थाहा थियो । निल हिरा समाज २००१ सालमा स्थापना भइसकेपछि हामी कमिटीको मेम्बर रत्नपार्कमा भेट्ने गथ्र्यौं । त्यो समयमा हाम्रो समुदायलाई समाजले सहजै स्वीकार गर्ने कुनै अवस्था थिएन । डर र त्रास थियो त्यो समयमा । अहिलेभन्दा भयावह र नाजुक स्थिति थियो । जोकर, चटके पागलको संज्ञा दिन्थ्यो । विकृतिको ट्याग लगाउँथे ।

२/ पछिल्लो समय नेपालमा यस समुदायको अवस्था कस्तो थियो ?

त्यति बेला संविधान र कानुनले सम्बोधन गर्न सकेको थिएन । समाजमा खुलेर आउने परिस्थिति थिएन । अहिले हाम्रो समुदाय खुलेर आएको छ । विभिन्न सामाजिक सञ्जाल, परिवार वा समाजमै किन नहोस्, तब कानुनी अधिकार पनि थिएन । सामाजिक स्वीकार्यता पनि थिएन । संविधानले सम्बोधन पनि गरेको थिएन । समुदाय लुकेर बसेको थियो । समुदाय अहिले जसरी सशक्तीकरण भइसकेर आएको अवस्था थिएन । स्थिति भयावह थियो हाम्रो समुदायको लागिभन्दा फरक नपर्ला जस्तो लाग्छ मलाई ।

३/ निल हिरा समाजले कस्तो विषयमा बढी केन्द्रित रहेर काम गर्छ ?

विविध लैंगिकता र यौनिकताका व्यक्तिविरूद्ध विद्यमान कानूनमा परिवर्तनको पक्षमा वकालत गर्छ । विविध लैंगिकता र यौनिकताका व्यक्तिको निम्ति मैत्रीपूर्ण यौन स्वास्थ्य सम्बन्धी शिक्षा दिने, सरकारसँग वकालत गर्ने, युवाको कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्ने, र हिंसाको अभिलेख राख्ने लक्ष्य राखेको छ ।

४/ अहिलेको समयमा समाजले केही नयाँ अभियानमा काम गर्दैछ ?

२०७८ सालको जनगणनामा हाम्रो समुदायलाई कसरी समेटिन्छ भनेर सम्बन्धित निकायसँग समन्वय, आग्रह र गृहकार्य गरिरहेका छौं । त्योसँगै कोरोना महामारीमा हाम्रो समुदायका व्यक्तिले रोजगार गुमाएका कारण आर्थिक, मानसिक र सामाजिक रुपमा कमजोर हुनुभएको छ । उहाँहरुका लागि काम गरिरहेका छौं । अब अरु अभियान भनेको एचआइभी र एड्स पीडितहरूलाई हेरचाह, परामर्श र सेवाहरू प्रदान गर्नु हो । २५ जिल्ला बढीमा हाम्रो यो अभियान चलिरहेको छ ।

यस बाहेक मानवअधिकारका विषयमा पनि काम गरेका छौं । मानवअधिकारमा चाहिँ समुदायको कानुनी, सामाजिक, शिक्षा, स्वास्थ्य र रोजगार माथिका अधिकार त्यसकासाथै सांस्कृतिक राजनीतिक अधिकारलाई कसरी स्थापित गर्न सकिन्छ । समुदायलाई कसरी संगठीत गरेर सशक्तीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित रहन्छौं । वकालत, जनचेतना जस्ता काम पनि अघि सरेका छौं ।

५/ नेपालको संविधानमा तपाईंहरुलाई कसरी समेटेको छ ?

संविधानमा पहिचानको अधिकारका लागि लैंगिकताको नागरिकता प्रदान गर्नुपर्छ भनेर धारा १२ मा उल्लेख गरेको छ । २००७ मा ब्लु डायमण्ड समाजको सबैभन्दा ठूलो उपलब्धि भएको थाहा छ सबैलाई । जब सुनिल बाबु पन्त र मानवअधिकारकर्मीले नेपालको सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसमा अदालतले सरकारले एलजिबिटीका सदस्यसँग स्पष्ट रूपमा भेदभाव गर्ने सबै कानुन खारेज गर्न आदेश दियो । समुदाय अदालतले समलिंगी विवाहलाई कानुनी मान्यताका लागि कानुन मस्यौदा बनाउन सरकारलाई आदेश पनि दियो । नेपालको संविधानले फरक लैंगिकतालाई समान अधिकारको ग्यारेन्टी भने दिएको छ ।

६/ संविधानमा उल्लेख भएको अधिकार तपाईंको समुदायले प्राप्त गरेका छन् ?

हामीलाई सरकारले सम्बोधन पनि ग¥यो, सँगै अपवाद पनि ग¥यो । लिंगका आधारमा नागरिकता प्रदान गरेपनि त्योसँग प्रतिवादित बनेर नागरिकता विधेयक आउँदा लिंग परिवर्तन गर्ने प्रावधान आयो । त्यसको हामीले विरोध गरिरहेका छौं । त्यसलाई हामीले स्वीकार गरेका छैनौं । अर्को संविधानको धारामा लिंगका आधारमा विभेद गरिने छैन भनेर लेखिएको छ । तर विवाहको हकमा देवानी ऐन हेर्दा महिला पुरुषमात्र विवाह गर्न सकिने भनिएको छ । अर्को समानुपातिक सिद्धान्तको आधारमा राज्यको हरेक संरचना र निकायमा हाम्रो समुदायलाई समावेश गराउने भनिएको छ । त्यो कुरालाई सरकार स्वय आफैले गर्न सकिरहेको छैन ।

६/ समाजमा यस समुदायलाई हेर्ने दृष्टिकोण कस्तो छ ?

समाजको दृष्किोणको कुरा गर्नुपर्दा यही समाजभित्र कोही सकारात्मक हुनुहुन्छ भने कोही नकारात्मक । हामीले आफ्नो सकारात्मक व्यवहार र परिवर्तनले मान्छेको सोच परिवर्तन गर्ने हो । समाजमा स्वीकार गर्ने व्यक्ति बढ्दै गएका छन् । समुदाय पनि इम्पाओर हुँदै आएको छ । तर त्यो भनिरहँदा विभेद लाल्छना बहिष्कार अथवा हिंसा नभएको भन्न्ने छैन । त्यो भइरहेका छन् । जस्तो जातीय विभेद मुद्दा सशक्त रुपमा उठे पनि अन्तरजातीय विवाहलाई यो समाजले स्वाकार गर्न सकेको छैन नि त ? अझै पनि बेइज्जतीको रुपमा लिएको अवस्था छ । मानप्रतिष्ठाका कारणले दमन गरेर बस्नुपर्ने बाध्यता छ । त्यो मानसिकता र व्यवहार परिवर्तन गर्नका लागि ठुलै अभियान चलाउनुपर्छ ।

७/ समाजको दृष्टिकोण परिवर्तनका लागि के गर्न जरुरी छ ?

अब यसको लागि चाहिँ हाम्रो समुदायको समस्यालाई सरकारीस्तरबाट महत्व प्रदान गर्नुपर्ने हुन्छ । विभिन्न कार्यक्रममा समुदायको मुद्दालाई समावेश गर्नुपर्छ । स्थानीय सरकारले स्थापना गरेको विभिन्न समिति हुन्छ । त्यस समितिभित्र हाम्रो समुदायको साथीहरुलाई समावेश गराउने परिचालन गराउन सकियो भने प्रत्यक्ष संलग्नताबाट समाज संवेदशील र सकारात्मक बन्न सक्छ । अर्को जनचेतनाको कमी भयो । जस्तो जातीय विभेद, महिला हिंसा, बलात्कार, छाउपडीविरुद्धमा सराकारीस्तरबाटै जनचेतना फैलाइन्छ । तर हाम्रो समुदायको सशक्तीकरण गर्न आवश्यक देखिन्छ । जसरी राज्यले अरु नागरिकका लागि विभिन्न योजनामा राख्छ, त्यसरी नै हाम्रो समुदायलाई पनि योजनामा पार्नुप¥यो । अनि यो समुदायको उत्थान र जनचेतनाका लागि कस्ता खालको कार्यक्रममा ल्याउनुपर्छ भन्नेमा सरकार जानकारी हुनुप¥यो ।

८/ समुदायको मुद्दाहरु कसरी अगाडि बढिरहेका छन् ?

एलजिबिटीको मुद्दा भर्खरमात्र उठिरहेको छ । स्थापित हुन अझै बाँकी छ । संविधानले सम्बोधन गरेपनि त्यसको कार्यान्वयन यति फितलो छ कि आमजनमासमा सकारात्मक सोचको विकास हुन सकेको छैन । यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ ।

यहाँ सरकारलाई गाली गर्दासमेत नालायकी, हुतिहाराको रुपमा हिंचडा वा तेस्रोलिंगीले चलाएको सरकार जस्तो गालीगलौचको रुपमा हाम्रो पहिचानको शब्द प्रयोग गरिरहेका छन् । यसले के पुष्टि हुन्छ भने अझै नेपालको राजनीतिक व्यक्तिहरुमा हाम्रो समुदाय भनेको अक्षम र कमजोर केही गर्न नसक्ने भन्ने सोच छ । संविधानमा सम्बोधन गरेर मात्र भएन । त्योसँगै रिफलेक्ट हुने गरेर कानुन बनाउनुप¥यो । हाम्रो मुद्दामा सरकारले नै साथ दिनु प¥यो ।

९/ तपाईं राजनीतिमा सक्रिय देखिनुभएको थियो एक समय अहिले राजनीतिक जीवन कस्तो ?

म राजनीतिमा पनि सक्रिय छु । म नयाँ शक्ति पार्टीबाट चुनावमा उठेको थिएं । अहिले पनि म जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य छु । त्यहाँभित्र एलजिभिटीआई समुदायको समिति छ । त्यसको इन्चार्जको रुपमा काम गरेको छु । राजनीति अब म छोड्दिन । चुनावी समयमा धेरै समय दिदाँ अहिलेको समय नदिएको जस्तो देखिएको हो । त्योसँगै यतातिरको अभियानमा समय दिनुपर्ने भएकोले पनि व्यस्त छु । राजनीति छोडेको चाहिँ छैन । सक्रिय नै छुभन्दा हुन्छ ।

१०/ तपाईं राजनीतिमा होमिनुभएको कारण के छ ?

यस विषयमा २ वटा कारण छन् मेरो । पहिलो नम्बरमा इख भएर हो । इख के कारण भयो भन्दा हाम्रो समाजको संस्थापक अध्यक्ष सुनिल बाबु पन्तको सदनमा प्रतिनिधित्व हुँदा हामीलाई संविधानमा सम्बोधन गरियो । तर पछि हाम्रा लागि प्रतिनिधि गर्ने कोही नहुँदा संविधानमा प्रतिवादित बनेर कानुन आयो । मलाई महसुुस भयो, हाम्रो समुदायमा राजनीतिक चेतना हुन आवश्यक छ । सँगै आफ्नो अधिकार खोज्न लड्न जरुरी छ । राजनीतिक प्रतिनिधित्व भयो भने हाम्रो अधिकार माग्न सक्छौं । सदन भित्र हुन्छौं । पोलिसी मेकिङको लेभलमा हाम्रो समुदाय पुग्नका लागि हाम्रो सहभागिताका लागि म राजनीतिमा लागेको हो । अर्को कारण भने मलाई राजनीतिमा इच्छा र रुचि पनि थियो ।

कमेन्टहरु
Loading...