कोरोनाको नयाँ प्रजाति भेरियन्ट नेपालमा पनि भएको आशंका

काठमाडौं । बेलायतबाट सुरु भएको कोरोनाको नयाँ प्रजाति भेरियन्ट नेपालमा पनि संक्रमण भएको संकेत देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रममा नेपालमा पनि कोरोनाको नयाँ प्रजाति भेरियन्टको संकेत देखिएको हो ।

बेलायतबाट नेपाल फर्किएका ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमित ७ जनामध्ये ३ जनालाई कोरोना भाइरसको नयाँ प्रजाति भेरिन्ट संक्रमणको संकेत देखिएको हो । नेपालमा भेटिएकामध्ये भेरिन्ट हो कि भन्ने विषयमा पत्ता लगाउन नेपालमा सिस्टम नभएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाउने तयारी भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बासुदेव पाण्डेले जानकारी दिएका छन् । नमुना परीक्षणका लागि हङकङ विश्वविद्यालयको प्रयोगशालामा पठाउने तयारी भइरहेको छ ।

चीनको बुहानबाट महामारी फैलिरहेको तथा नेपालमा कोरोना परीक्षणको प्रविधि आइनसकेको समयमा बुहानबाट नै फर्किएका नेपालीको नमुना परीक्षण गरिएको हङकङको प्रयोगशालामा नै उक्त नमुना परीक्षण गर्न पठाइने बताइएको छ ।

बेलायतबाट सुरु भएको कोरोना भाइरसको नयाँ प्रजाति भेरियन्ट पुरानो कोरोनाभन्दा ७० प्रतिशत बढी संक्रामित हुन्छ । अनुसन्धानका अनुसार स्वास्थ्यको जटिलता पुरानो कोरोना तथा भेरियन्टको लगभग एउटै हुन्छ । पुरानो कोरोना १ हजार जनामा फैलिंदा भेरियन्ट १७ सय जनालाई सर्ज सक्ने सम्भावना हुन्छ । बेलायत सहित भेरियन्ट भारत तथा अन्य विभिन्न मुलुकहरुमा फैलिसकेको छ ।

कमेन्टहरु
Loading...