प्रचण्ड–नेपाल पक्षीय अनेरास्ववियुद्वारा प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्ष अनेरास्ववियुले आजबाट नेकपा ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलन सुरु गर्ने भएको छ । अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गर्ने ओली सरकारको कदमविरुद्ध आन्दोलन सुरु गर्ने जानकारी दिएका हुन् ।

आन्दोलनका कार्यक्रम अन्तरगत आज प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गरिने छ । त्यस्तै आजै प्रत्येक कलेजहरुमा कालो ब्यानर राखेर विरोध तथा कोणसभाको आयोजना गर्ने तामाङले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

संघर्षका अन्य कार्यक्रमहरुमा भोलि पुस २२ गते उपत्यकामा लाल्टिन जुलुस् तथा उपत्यका बाहिर आवश्यकता अनुसार लाल्टिन/सिठ्ठी/लाठी जुलुसको आयोजना गरिने, पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने, २४ गते सिडियो कार्यालयमा ज्ञापनपत्र बुझाउने, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रमको आयोजना गर्ने लगायत रहेका छन् ।

प्रचण्ड–नेपाल पक्षीय अनेरास्ववियुले पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक तथा आर्ट (स्ट्रिट वाल पेटिङ) तथा पुस २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

यो दोस्रो चरणको आन्दोलनको कार्यक्रम रहेको छ तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु माघ १ गते सार्वजनिक गरिने समेत उक्त समुहले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...