पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५४ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ७ सय ५३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
उनका अनुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको संख्या ७४ पुगेको छ । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको संख्या १३ हजार ७ सय १ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा स्याङ्जाको चापाकोट नगरपालिका–६ का ७७ वर्षीय पुरुष छन् । योसँगै हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ९४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस