चितवन । गृहमन्त्री रामबहादुर थापा बादललाई चितवनमा कालो बेलुन उडाएर विरोध जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाको जिल्ला स्तरीय अगुवा भेलालाई सम्बोधन गर्न गृहजिल्ला चितवन पुगेका गृहमन्त्री थापालाई नेकपाको प्रचण्ड–नेपाल समुहका नेता तथा कार्यकर्ताले कालो बेलुन उडाउँदै विरोध गरेका हुन् ।
गृहमन्त्री थापाको विरोधमा प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले कालो बेलुन उडाएका थिए ।
उनको विरोधमा कार्यक्रम आयोजना भएको स्थान भरतपुरको हाकिम चोक जाने बाटोमा पर्ने विभिन्न कार्यालय, होटल, बिजुलीका पोल तथा रुखमा कालो झण्डा बाँधेर विरोध गरेका छन् । साथै प्रचण्ड–नेपाल समुहका कार्यकर्ताले संवैधानिक ‘कु’ का मतियार, बादल लाल गद्धार लगायत लेखिएको ब्यानर बेलुनमा बाँधेर उडाएका थिए ।
चितवनमा आज नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समुह तथा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहले एउटै समय पारेर कार्यक्रमको आयोजना गरेका छन् ।