प्रदेशसभा समेत विघटन हुन सक्छः मन्त्री तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाङ्फेले संसद विघटन भइसकेपश्चात् नेपालको प्रदेशसभाहरु समेत विघटन हुन सक्ने बताएकी छिन् । केन्द्रमा देखिएको राजनीति प्रभावको असर अब प्रदेशसभामा पनि देखिन थालेको भन्दै मन्त्री तुम्बाहाङ्फेले प्रदेशसभा समेत विघटन हुन सक्ने संकेत गरेकी हुन् ।

विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको संविधान तथा कानुन अनुसार प्रदेशसभा विघटन हुन सक्ने बताइन् । प्रदेशलाई प्रदेशसभा विघटन तथा सञ्चालनको अधिकार रहेको पूर्व कानुनमन्त्री समेत रहेकी तुम्बाहाङ्फेको भनाई छ ।

पत्रकार सम्मेलनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार कामचलाउ भइसकेको अवस्थामा सरकार सञ्चालन तथा काम कारवाही सहज होस् भन्ने हेतुले मन्त्रीमण्डल विस्तार गरेको उनको स्पष्टोक्ति रहेको थियो ।

संसद विघटन गरेर प्रधानमन्त्री ओलीले विधिसम्मत् कार्य गरेको समेत उनको दावी थियो ।

संविधानमा संसद विघटनका विषयमा स्पष्ट रुपमा उल्लेख नभएको भए पनि ताजा जनादेशमा जान प्रधानमन्त्री ओलीले संसद विघटनको निर्णय लिनुपरेको मन्त्री तुम्बाहाङ्फेले बताएकी छिन् । प्रधानमन्त्री ओलीले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न हुने दावी गर्दै उनले सरकार यसको तयारीका लागि समेत अगाढि बढिसकेको बताएकी छिन् ।

कमेन्टहरु
Loading...