नमुना घलेगाउँमा पर्यटकको चहलपहल बढ्यो

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमुना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ ।

कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । कोभिडका कारण यहाँका समितिलेसमेत घरबास बन्द गरे पनि गत भदौ १ गतेदेखि घलेगाउँ घरबास पर्यटकका लागि खुला गरेको थियो ।

घरबास खुला गरिएको केही हप्तापछि कहिलेकाहीं ९/१० जना मुस्किलले आउने गरे पनि यतिबेला दैनिक सय देखि १ सय ५० जनासम्म आन्तरिक पर्यटक आउन थालेको समितिका सचिव उमलबहादुर विकले बताएका छन् । उनले भने, ‘कोभिडका त्रासले नआएका पर्यटक आउन थालेपछि घरबासमा चहलपहल हुनुका साथै आम्दानी हुँदा घरबास सञ्चालक हर्षित हुन थालेका छन् । प्रकृतिले सिंगारिदिएको घलेगाउँ आफैंमा सुन्दर छ भने घरबास सञ्चालकको मुख्य आम्दानीकै स्रोत पर्यटन हो । यहाँ ३७ घरमा घरबास सञ्चालनमा छ ।’

विगतमा यस समयमा दैनिक २००/३०० सम्म पर्यटक आउने गर्थे । वर्षेनी २५ हजार हाराहारी पर्यटक आउने तथ्यांक छ । पर्यटक नआउँदा आम्दानीसमेत रोकिएपछि निराश तथा चिन्तित बनेको झण्डै १० महिनामा पर्यटकको चहलपहल हुन थालेपछि घरबास सञ्चालकको मुहारमा एकाएक चमक आउन थालेको छ । समितिका अनुसार अब भने विस्तारै पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै विगतको मौसमको लयमा फर्किने पर्यटन व्यवसायीको अपेक्षा छ । पर्यटकको चहलपहल हुँदा यहाँका प्रतिघरबास सञ्चालकले कम्तीमा पनि ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म मासिक आम्दानी गर्ने गरेको घरबास सञ्चालक दीर्घराज घलेको भनाई छ । उनले भने, ‘हामीले प्रतिपर्यटक एक हजार १०० मा खाना बस्न र सुत्न दिने गरेका छौं ।’ विगतमा जसरी यतिबेला कोभिडका कारणले गर्दा स्वागत कार्यक्रम र गुरुङ समुदायको संस्कृतिका कुनै पनि साँस्कृतिक कार्यक्रम भने नगरिएको उनले बताए ।

यसअघि घरबासमा आएका पर्यटकलाई सत्कार सँगसँगै आफ्ना कलासंस्कृति जोगाइराख्न जुटेका गुरुङसेनीको जातीय पहिचानसहित कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायतका लोपोन्मुख साँस्कृति नृत्यसमेत प्रस्तुत हुने गरेको थियो ।

विसं २०५६ बाट सुरु भएको ग्रामीण पर्यटन प्रवद्र्धनका प्रयासबाट घलेगाउँलाई विसं २०७५ पुस १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्मार्ट भिलेजको शुभारम्भ गर्नुभएको थियो । यहाँका पर्यटन पूर्वाधार विकासका लागि गत वर्ष गण्डकी प्रदेश सरकारको २९ लाख ४६ हजार तथा क्होलासोथर गाउँपालिकाको १५ लाख आर्थिक सहयोगमा यहाँका १ सय २५ घरधुरीमै रातो रंगको टिन लगाएको समितिले जनाएको छ ।

मुलुकमा विसं २०६२/२०६३ को जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएसँगै गठन भएको संयुक्त सरकारको परराष्ट्रमन्त्रीस्तरीय सार्क बैठकले नेपाल सरकारको पहलमा घलेगाउँलाई सार्क राष्ट्रकै नमुना ग्रामीण पर्यटन गाउँका रुपमा घोषणा गरेको थियो । घलेगाउँ समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण नेपाल आदिवासी जनजातिमध्ये गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँसमेत हो । यहाँ घलेराजामध्ये अन्तिम घलेराजा ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यहाँ आउँने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका र भेडाको मासुलगायतका परिकार खुवाउने गर्छन् ।

घलेगाउँबाट ६ हजार ९ सय ८६ मिटर उचाइको लमजुङ हिमाल, ७ हजार ९ सय ३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९ सय ६३ मिटर उचाइको माछापुच्छ«े हिमाल, ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु हिमाल, ७ हजार ८ सय ९३ मिटर उचाइको हिमालचुली, ७ हजार ८ सय ३५ मिटर उचाइको ङादीचुली (डा हर्क हिमाल) र ६ हजार ६ सय ७२ मिटर उचाइको बुद्ध हिमाल देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ संग्रहालय, क्वोइवो धीं, घले राजाको शालिक, सात कुवा, चिया बगान, भीर मौरी र बनझाक्री छहरालगायतका स्थानसमेत घलेगाउँमा देख्न सकिन्छ । रासस

कमेन्टहरु
Loading...