पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले केही शक्ति तथा व्यक्तिले आगामी वैशाखमा निर्वाचन हुँदैन भन्ने हल्ला फिजाएको भए पनि निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट पारेका छन् । काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विघटित संसद फेरी पुनःस्थापना हुन नसक्ने भन्दै प्रधानमन्त्री ओलीले निर्वाचन कुनै पनि हालतमा हुने स्पष्ट पारेका हुन् । ‘परशुरामका बाबुको पालामा जस्तो मरेका आमा बौराइपाऊँ भन्दा हुन्छ र ?’ उनले भने, ‘संविधान तथा कानुनले मिल्दैन, विघटित भइसकेको संसद फेरी बौरिंदैन, संसद विघटन भयो, भयो, अब नयाँ चुनाव हुन्छ, हुन्छ ।’
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समुहलाई फिर्ता आउन आग्रह गरे । सच्चिएर, पद तथा शक्तिको मोह त्यागेर आए प्रचण्ड–नेपाललाई स्वागत गर्न तयार रहेको उनले बताएका हुन् । व्यंग्य गर्दै उनले अझै पनि अध्यक्षको कुर्सी तथा केन्द्रीय सदस्यको सिट खाली रहेको उनले बताएका थिए । ‘फर्किएर आउनुस्, अपराध माफ गरिदिउँला ।’ उनले भने । पार्टी फुटाल्ने, काम गर्न नदिने, झुटा आरोप लगाउने, सरकारलाई बदनाम कसरी गराउने भन्ने ध्याउन्नमा प्रचण्ड–नेपालको समुह लागिरहेको उनले आरोप लगाएका छन् । ‘केही साथी हरेक पल संगसंग हुनुहुन्छ, क्या मिलेको जोडी छ ।’ व्यंग्य गर्दै उनले भने, ‘किन भन्दा त सरकारका सकारात्मक कामको समेत विरोध गर्न रहेछ ।’
कार्यक्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अमर्यादित व्यवहार गरेकोमा समेत आपत्ति प्रकट गरेका छन् । राष्ट्रपति भण्डारीको इज्जतमाथि धावा बोलेको उनको आरोप थियो । सामाजिक मर्यादा समेत नेताहरुले राख्न नसकेर असभ्यता प्रकट गरेको उनले बताए । सडक आन्दोलनमा गएर राष्ट्रपति भण्डारीमाथि अवाञ्छित तथा असामाजिक व्यवहार गरिएको उनको भनाई थियो ।
निर्वाचन आयोगमा केही व्यक्ति पुगेर आधिकारिक आफूहरु हौं र हामीसंग बहुमत छ भनेको उनले बताए । झुट बोल्ने बानीलाई कसैले परिर्वतन गर्न नसक्ने उनको भनाई थियो । अविश्वासको प्रस्ताव दर्ता सम्बन्धी समेत प्रचण्ड–नेपालले झुट बोलेको उनको आरोप छ । ‘सभामुख जस्तो मान्छेले बिहान साढे १० बजे नै अविश्वासको प्रस्ताव ल्याइएको हो भन्छन्, त्यो त साढे ३ बजेमात्र पुगेको थियो ।’ उनले भने, ‘संसद सचिवालयले विज्ञप्ति प्रकाशित गरिसकेको छ, बिहान साढे १० बजे होइन, दिउँसो साढे ३ बजे प्रस्ताव आएको थियो ।’ अविश्वासको प्रस्तावको विषय केही परिचालित सञ्चारमाध्यमले समेत साथ दिएको उनको आरोप थियो । ‘मेरो भनाई सुनेर सञ्चारमाध्यमलाई गाली ग¥यो भनेर मेरो विरोध गर्छन् फेरी ।’ उनले भने, ‘मैले सबै सञ्चारमाध्यमलाई होइन, परिचालित सञ्चारमाध्यमलाई भनेको हो ।’
धरहरा, रानीपोखरी लगायतका विकास निर्माणका कामहरु आफूले नगरेको उनले बताए । केहीले सिकर्मी, डकर्मीले बनाएको भन्दै भाषण गरेको उनको भनाई थियो । ‘मैले धरहरा बनाएका होइन, रानीपोखरी पनि बनाएको होइन ।’ उनले भने, ‘मेरो पालामा बनेको हो । मलाई जस पनि चाहिएको छैन ।’ भ्रमबाट मुक्त भएर अगाडि बढ्नुपर्ने उनको भनाई थियो । कतिपयलाई सूर्य चिन्ह पाउँदैन कि भन्ने चिन्ता रहेको उनले बताए । ‘सूर्य चिन्ह हामीले नपाएर अरु कसले पाउँछ त ?’ प्रश्न गर्दै उनले भने ।