पोखरा: देशमा लामो सघंर्ष र नागरिकको बलिदान पश्चात् गण्तन्त्र आयो । देशमा राजनीतिक परिर्वतन भए, सत्ता फेर बदल भए । गण्तन्त्रसँगै नागरिकको आशा अपेक्षा स्वत् जनताको सरकारसँग हुने नै भयो । तर जनताले गणतन्त्रको सुख महसुस गर्न भने पाएनन् । नागरिकका आशा जहिले निराशामा परिणत भइरह्यो । तर जनताले गणतन्त्र पछि संविधान पाए ।
यसबीच देशले परिवर्तनको केही फड्को मारेको छ । तर आज जनताले गणतन्त्रमा पाएको संविधानमाथि टेकेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरे, जसको चौतर्फी विरोध भइरहेको छ । तर आफूहरुसँग प्रत्यक्ष जोडिएको प्रतिनिधिसभा विघटन भएको विषयलाई आमनागरिकले कसरी लिएका छन् त ? राजनीतिबाट टाढा रहेका, जो आफ्नो दैनिक छाक टार्न सडकमा खटिन्छन् । उनैको प्रतिक्रिया कस्तो छ ?
अब सरकारप्रति आशा छैन । त्यतिबेला बहुमतको सरकारले मिलेर केही गर्छन् कि भन्ने आशाले नेकपामा मत दिएको थिए ।अहिले दुख लाग्छ । त्यही बहुमतको सरकारको आन्तिरक कलहले कोरोना महामारीमा राजनीतिक हलचल आयो । सरकारको नेतृत्व महामारीको समयमा जीवनजल नपाएर ज्यान गुमाएको बेला देखियो । अबको निर्वाचनमा मत चाहिँ नदिने । म नयाँ सरकार र युवा नेता आए भने सहयोग र साथ भने दिन्छु ।भेष बहादुर नेपाली (पोखरा १९ घर भएका उनी विगत विगत १६ वर्षदेखि ट्याक्सी व्यवसाय गर्छन् । )
पाल्पाबाट पोखरा पेट पाल्न पसेको ८ वर्ष बितिसक्यो । ट्याक्सी चलाउन सुरु गरेको ८ वर्ष पुग्यो । तर खै ? हामी सडकमा भएका जनता कहाँ पुग्यौं । अहिले उल्टै कुर्सीको लोभले नेता सडकमा आउनुभएको रहेछ । मैले समाचार देखेको थिए । नेताले सडकको जनतालाई कहिले हेर्नुभयो र ? अब मतदानलाई कसलाई दिने ? त्यही पहिलेका बुढाहरुलाई ? नयाँ खै ? हामी नपढेका यस्तै सानोतिनो काम गर्छौं । पढेका युवा विदेश जान्छन् । अब बल्लबल्ल विवेकशील भन्ने सानो दल आएको थियो । त्यो पनि त्यस्तै हो । म त अघिल्लो पटक मत पनि दिएन अब नि नदिने । हामी नपढेको भएपनि अलिकति दिमाग छ बुझ्छौं, सबै देखेका छौं । केही गर्दैनन् । कुर्सीको बारेमा सोचेर मात्र हुँदैन । मत दिएपनि हामी त बेकुफ बनाउने हो । जनतालाई भेंडा सम्झेर हो यिनीहरुले मजदुर भएपनि ४-५ क्लास पढेका छौं । बुझ्छौं नि । कृष्णबहादुर थापा
काभे्पलान्चोकबाट म पोखरा आएको १२ वर्ष भयो । महेन्द्रपुलमा जुत्ता सिलाउने काम गर्न थालेको धेरै भएको छैन ।देशमा के–के आयो भन्छन् । खै हामी त सधैं यहीं छौं ।नेताले हामीलाई कहिले मान्छे सोचेनन् देख्दापनि देखेनन् तिनीहरु हाम्रो लागि छैनन् । अब हामीलाई उकास्ने कोही आए हुन्थ्यो । अग्नि नेपाली
म मान्छे त पूर्व माओवादी हो नि । यिनीहरु मिलेपछि नेकपामा मत दिएको थिएं । तर अहिले त मिलेन छन् है । भित्र–भित्रै यिनको के कुरा मिलेन होला । यसो केही गर्छन् कि भनेको नगर्ने भए । सरकारको आशा लाग्न छोड्यो । साग बेचेर छाक टार्न थालेको वर्षौं भयो । खै त सरकारले हामीलाई हेरेको ? स्याङ्जादेखि पोखरा आएको १६ वर्ष बितिसक्यो आफ्नो घर छैन । यहीं साग बेच्दा नगरपालिकाको गाडीले लखेट्छ । हामी जनतालाई गरी खानकै धौ–धौ छ । लोकनाथ सुवेदी
म ६६ वर्षको भए । यो देशमा मैलै धेरै परिर्वत देखें । राजा गए, एमालेले वृद्धा भत्ता दियो । एमालेलाई हाले नि । अब त गए एमाले गए सबै गए । अब राजालाई भोट दिने हो । जे–जे गरे पनि गरोस् राजाले । उनीहरु आफ्नै विरोधी भएका हुन्, हामी होइन । हामी घरबार नभएका मान्छे दिउँसोभरि बेचेर बेलुका खाना खाने हो । तर हामीलाई हेर्दैनन् । गरिब जनता मर्ने थिएनन् । उनीहरु आए, आशा देखाए, अब केही होला नि त, आशा पुरा गर्लान् भनेको त केही गरेनन् । हामी अनपढ गरिब जनताले केही गर्न सकेनौं । हामी त के भन्ने राम्रै होला भनेको ठ्याकठुक उनकै भएको छ । हामीले त राम्रो होला भनेको क्यारे गरेकै हो हामीले । अभिभावक बिनाको छोराछोरी जस्तै हो । अहिले देश राजा बिना । राजा आए मात्र बोल्ने हो । धनकुमारी रोका
राम्रो होला अघि–पछिको दलभन्दा राम्रो गर्लान् भनेर दिएको हो । भोट त तर राम्रो गरेनन् । खै ? अब के भन्नु हामी त सडकमा व्यापार गरेर खाने मान्छे हो । व्यापार भए खान पुग्छ, लाउन पुग्छ । भोट दिए पनि कसैले केही गरेनन् । त्यस्तै रैछन् सबै हाम्रा लागि कोही छैनन् । विष्णु सिके
हामीले मत दिएर जुन प्रतिनिधिहरु पठायौं । त्यसको उत्तरदायिदत्व पुरा हुन सकेन । धन्नै दुईतिहाईको हाराहारीमा रहेको पार्टी त्यसले सञ्चालन गरेको सरकार आफ्नै कारणबाट विघटन गर्दा दुर्भाग्यपूर्ण भन्छु र यसले सहज स्थिति र निकास गर्दैन र देशलाई निकास हुँदैन । विगतका अनुभव र क्रियाकलापबाट देखिन्छ । देवराज बराल
जनताले भोट गरेर पठाए ५ वर्षको म्यान्डेन्ट दिएर पठाएको हो । अहिले राजनीतिक खिचातानीले सरकार घेरियो, बिग्रियो । तर यो गैरजिम्मेवार र गैरसंवैधानिक हो । राजनीतिक दलले जनतालाई सधैंको पिरियडमा भेडा–बाख्रा बनाइरहेका छन् । जनता भनेको मोहरा हुन् । नेता सबै सामन्ती हुन् । म व्यवसायी हुँ । भर्खर लकडाउनको मारमा परेर निस्किदै छु । फेरि सडकमा दैनिकको विरोध । पार्टी र आन्तरिक झैगझगडाले हामी जनता मर्कामा पर्ने भयौं । विजय विक्रम दाहाल
५ वर्षको म्यान्डेट दिएर पठाएको अहिले आएर ३ वर्षमै संसद विघटन गरेको मन परेको छैन । आंफै लडेका छन् अरुलाई फाइदा हुन्छ । स्वार्थमात्रै भयो । सबैको माटोको माया गरेर बाहिरीको चलखेलमा हिंड्न भएन । आफ्नो घर आफैं बनाउने हो, बाहिरका व्यक्तिले भत्काउन मात्र आँउछन् । सन्जीव बराल
हामीले विश्वास र आशा गरेर देश विकासका लागि प्रतिनिधिलाई मत दिएर जनताको गुनासो र मर्का सुनाउन जिताएर माथि पठायौं । अहिले आएर हाम्रो मतको अपमान गर्दै प्रधानमन्त्रीले जनताको प्रतिनिधिसभा विघटन गर्नुभएछ । प्रधानमन्त्रीले संसद भवनका सांसद विघटन मात्र गर्नुभएको होइन, जनताको विश्वासमाथि प्रहार गरेर जनताको प्रतिनिधिलाई गलत्याउनु भएको हो । भर्खर कोरोना महामारीबाट देश सामान्य स्थितिमा फर्किदैछ अब फेरि निर्वाचनमा कसरी जान सक्छ देश ? जसको भोटलाई यसरी अपमान गर्नु भयो ।फेरि उहाँँ कुन मुख लिएर आउनुहुन्छ जनतासामु मत माग्न ? लाज भन्ने चीज हाम्रो देशको नेताबाट हराएको हो ? दया क्षेत्री
मलाई लाग्छ ५ जना सन्तानमा मध्ये पाँचै जना बिग्रेको हुनुभन्दा १ जना सन्तान भएर ऊ मात्र बिग्रियोस् । देशको अवस्थामा पनि त्यस्तै छ । सबै भए तर देशलाई हेर्ने कोही भएनन् । मलाई अहिलेको अवस्थामा त्यति धेरै बोल्नु छैन । देशको अवस्था देख्दा निराशा र फ्रस्टेसन भएर आँउछ । यत्ति भन्न चाहान्छु जनताले देखेका छन् सबै । प्रधानमन्त्रीले जनताको मत गर्नुभयो संविधानको बलात्कार गर्नुभयो । तीर्थ अवस्थी
प्रस्तुतीः रिना थापा