ओली–देउवाको तालमेलपछि दोस्रो चरणको आन्दोलन गर्ने तयारीमा दाने

 

दिपक के श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि रुष्ट पुष्पकमल दाहाल र माधवकुमार नेपाल (दाने) समूह निरन्तर आन्दोलनमा छ । सत्ताबाट एकाएक सडकमा झरेर आन्दोलनरत भएको दाने समूह प्रम ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तालमेल गरेको सुइको पाएपछि अब दोस्रो चरणको आन्दोलनमा लाग्ने पक्का भएको छ ।

आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले आज अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने दाने समूहका एक नेताले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाने समूह रूष्ट छ ।

सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको दाने समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो ।

प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर संयुक्त सरकार चलाउने तथा विघटन नभए तालमेल गरेर चुनावमा जान ओली-देउवा सहमत भएको सार्वजनिक भएपछि दाने समूह संयुक्त आन्दोलनको विकल्पमा पुगेको स्रोतको दाबी छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिने आदेश अनुसारको कदम चाल्ने कांग्रेसको तयारी छ । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरूङका अनुसार चुनाव भए पनि आन्दोलन भए पनि कांग्रेसले कसैसँग सहकार्य गर्ने छैन । ‘कांग्रेस अहिले सडकमा छ, अदालतको निर्णय हामीलाई मान्य छ, जस्तो आदेश आए पनि हामी कसैसँग तालमेल नगरी अघि बढ्छौँ चाहे त्यो आन्दोलन होस वा चुनाव,’ गुरूङले भने ।

संयुक्त आन्दोलन नगर्ने कांग्रेसको प्रष्ट संकेतपछि दाने समूहले अब जनपरिचालनलाई प्रभावकारी बनाउने गरी आन्दोलनका कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।

कमेन्टहरु
Loading...