पोखरा । गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्व माओवादीभित्र आफूभन्दा माथि जान खोजेको अवस्थामा विभिन्न आरोप लगाएर हटाउने प्रवृत्ति भएको र नेतालाई राजनीतिक भूमिका सिध्याउने रणनीति रहेको र त्यो अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई लागू भएको बताएका छन् । पोखरामा आज ओली समुहले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पूर्वमाओवादीको प्रवृत्तिबाट नेकपाको प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिर आउन नसकेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीलाई आफ्नो निजी निवासमा बोेलाएर संसद भवन नखुल्दै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि बाध्य भएर ओलीले संसद विघटन गरेको उनको दावी थियो । ‘व्यवस्था, संविधान, गणतन्त्र तथा लोकतन्त्रमाथि नै चुनौती आउने देखेर प्रधानमन्त्री ओलीले यसलाई जोगाउनका लागि प्रनिधिसभा विघटन गरेर चुनावमा जाने घोषणा गर्नुभएको हो ।’ उनले भने । बहुमतको सरकारलाई आफ्नै दलभित्रबाट योजना सहित काम गर्न नदिइएको उनको आरोप छ ।
संविधान अनुसार, लोकतन्त्रको मर्म र भावनालाई आधार मानेर प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा भंग असंवैधानिक नभएको उनले कार्यक्रममा दावी गरेका छन् । चुनाव लोकतान्त्रिक व्यवस्थाको अभ्यास गर्ने उत्कृष्ट माध्यम भएकाले चुनावको घोषणा गर्नु अलोकतान्त्रिक हुन नसक्ने उनको भनाई थियो । ‘अहिलेसम्म नेपालमा ४० जना भन्दा बढी प्रधानमन्त्री भइसके होलान् ।’ उनले भने, ‘तर ओलीले विभिन्न चुनौतीको सामना गरेर मुलुकका लागि योगदान दिएका छन्, बलिदान दिएका छन् ।’
नाकाबन्दी हुँदा सामना गर्नु, चीनसम्म पारवहन सम्झौता गर्नुदेखि नै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको उनको आरोप थियो । कसैको इशारा तथा विदेशीको पहलमा २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीविरुद्ध अविशवासको प्रस्ताव आएको र अहिले पनि त्यही इतिहास दोहो¥याउन चाहेको उनले बताए । मुख्यमन्त्री गुरुङले भने, ‘भारतका विरुद्ध उभिएपछि ओलीविरुद्धको चलखेल सुरु भएको र हालका श्री ३ हरुले त्यही इतिहास दोहो¥याउन चाहेका छन् ।’ आफूहरुले नेपाली राजनीतिमा इतिहास कायम गरेको भए पनि पार्टीभित्रकै श्री ३ लाई हटाउन नसकिएको बताएका छन् । ‘पार्टीभित्र कै श्री ३ हरुलाई हटाउन नसकेका रहेछौं ।’ उनले भने ।
आफूहरुसंग चुनावमा जाने एजेण्डा पर्याप्त भएको तर प्रचण्ड–नेपाल समुहहरुसंग एजेण्डा नै नभएको उनले बताएका छन् । ओली नेतृत्वको सरकारले विभिन्न विकास निर्माणका कामहरु भएको र बाँकी रहेका कामहरु सम्पन्न गर्ने मुख्य एजेण्डा भएको उनको भनाई थियो ।