पर्यटक लोभ्याउँदै छ पर्वतको भुक देउराली गाउँ

पोखरा । एकै लहरमा ढुंगाले छाइएका आकर्षक घर । मौलिकता झल्काउने झ्यालढोका । रातोमाटो र कमेरोले लिपिए चिटिक्क पारिएका छन् । गाउँभित्रका प्रत्येक गल्लीमा घरका दैलोसम्म पुग्न ढुंगाका छपनी बिछ्याइएको छ ।

गाउँभित्र हिँड्न कलात्मक सिँढी छन् र ठाउँ–ठाउँमा फोहर फाल्ने ड्रम तथा सार्वजनिक शौचालय छन् । जीवनमा एकपटक पुग्नैपर्ने गाउँ हो पर्वतको मोदी गाउँपालिका–१ स्थित भुक देउराली ।

गाउँको सुन्दरताजस्तै यहाँका स्थानीय मन त्यस्तै सङ्लो देखिन्छ । गाउँको सुन्दर वातावरणलाई जोगाउँदै नमूना बस्ती बनाउन स्थानीय जागरुक छन् नै देश तथा विदेशमा रहेका गाउँवासी पनि तन, मन र धन दिएर यहाँका पूर्वाधार विकासमा खर्चिएका छन् । पुराना संरचनाको संरक्षण गर्दै निर्माण गरिएका बाटोघाटो, शौचालय, खेलमैदान आदिले गाउँको मुहार फेरेको छ ।

देश विदेशमा रहेका स्थानीयले लगभग ९० लाख जुटाएर यहाँका पूर्वाधारमा खर्च गरिसकेको भुकदेउराली सामूदायिक घरवासका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिएका छन् । गाउँमा पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याइएको हो । उनले भने, ‘सफा वातावरण, मिलेको बस्ती, प्रांगारिक उत्पादनको स्वादसँगै गाउँवासीको आतिथ्यताले भुक देउराली पर्यटकीय गाउँको रुपमा स्थापित बन्दै गएको छ ।’

विकसित सहरका जस्ता सार्वजनिक शौचालय र धुलो नउड्ने ढलानसहितको सडक रातैभरि उज्यालो हुने गरी सडकबत्तीका साथै सरसफाइयुक्त घरआँगन र बाटोघाटो यसका गाउँका विशेषता हुन् । गाउँ छाडेर विदेशिएका स्थानीयको जागरुकताले यस ठाउँ नमूना गाउँका रुपमा स्थापित बनेको छ । विभिन्न सेवा, पेसा र व्यवसायका क्रममा गाउँ छोडेकाले सहयोग जुटाउँदै गाउँको पूर्वाधार विकास गरी नमूना गाउँ बनाउने अभियानलाई साकार पारेका छन् ।

नमूना गाउँ निर्माणको अभियानअन्तर्गत गाउँमा १ हजार ३ सय ३३ मिटर लम्बाइको सिँढी बनाइएको छ भने २ सय २० मिटर धुले सडक ढलान गरिएको छ । गाउँभित्रका बस्तीबस्तीमा ४९ सडक बत्तीका साथै आगन्तुक पर्यटकका लागि ठाउँठाउँमा ४ वटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताले सम्पन्न भुक देउरालीबाट अन्नपूर्ण हिमश्रृंखला, वरपरका झिलीबराङ, लप्सीबोटलगायतका पर्यटकीय गाउँ देखिन्छ । फागुन चैतको समयमा फूल्ने फूल लालिगुराँससहित विभिन्न प्रजातिका फूल, विभिन्न प्रजातिका चराचुरुंगी, चितुवा, मृग, कालीजसमेतले यहाँको पर्यापर्यटनमा पनि उत्तिकै योगदान दिएका छन् ।

गाउँको शिर भमरकोट हुँदै घोरेपानी जाने पदमार्ग निर्माण भइरहेको छ । यस गाउँलाई पदयात्रा पर्यटनसँग जोड्न सकिएमा बाह्रै महिना स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढाउन सकिने टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिएका छन् । गण्डकी प्रदेशकै महत्वपूर्ण पदयात्रा मार्ग पुन हिल क्षेत्रमा जाने मार्गको विरेठाटी नजिकै यो गाउँ रहेको छ ।

घोडेपानी र पुनः हिल पदमार्ग देउराली गाउँको नजिकै भएर जाँदा पनि गाउँमा पर्यटकको पाइला पुग्न नसक्दा यहाँका स्थानीय चिन्तित बनेका छन् । नयाँपुल भमरकोट उल्लेरी हुँदै घोडेपानी पदमार्ग खुलेको भए तापनि सुन्दर देउरालीमा अझैसम्म आन्तरिक तथा बाह्य पर्यटक भित्रिन नसेको बताउने स्थानीयवासी पदयात्रा मार्गसँग जोडेसँगै यहाँको गरिमा र महत्व बढ्ने बताउँछन् ।

प्रकृति र संस्कृतिमा सम्पन्न देउरालीमा घरवास सञ्चालन भएसँगै गाउँ पर्यटनको सम्भावना पनि उत्तिकै बढाएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिएका छन् । ‘हामी सुन्दर पर्यटकीय गाउँ र त्यहाँका संस्कृतिलाई पर्यटन बजारमा ल्याउन होमस्टेको प्रवद्र्धन कार्यक्रमलाई अघि बढाएका छौं ।’ उनले भने, ‘कोरोनाका कारण लामो समयसम्म शिथिल बनेको पर्यटनलाई उजागर गर्दै पुनः चलायमान बनाउने हाम्रो लक्ष्य छ ।’ गाउँ पर्यटनमा भुक देउरालीले धेरै सम्भावना बोकेको बताउँदै उनले यहाँको स्थानीय जागरुकता पनि उत्तिकै प्रशंसायोग्य भएको बताएका छन् ।

सुन्दर गाउँको पर्यटकीय विकासका लागि बाटोघाटोलगायतका पूर्वाधार विकास गरिनु आवश्यक हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई बताउँछन् । पोखराको पर्यटनसँग गण्डकी प्रदेशभित्र रहेका पर्यटकीय गाउँलाई जोड्न सकिने पर्याप्त सम्भावना रहेको उनको भनाई छ । घरवाससँगै गाउँमा आउने पर्यटकका लागि प्रांगारिक उत्पादन खुवाउने सोचका साथ स्थानीयवासी उत्पादनमा पनि जोडिएको जनसेवी आमा समूहकी अध्यक्ष हरिमाया गुरुङले बताइन् । ‘पछिल्लो समयमा यहाँ उत्पादन हुने खाद्यान्न तथा तरकारीले यही नै बजार पाउन थालेको छ ।’ उनले भनिन्, ‘स्थानीयरुपमा नै उत्पादित प्रांगारिक खाद्यान्नका कारण पनि पर्यटक लोभिने गरेका छन् ।’ पछिल्ला समयमा विभिन्न सेवा पेसाका कारण गाउँ छोडेका पनि गाउँ फर्कने क्रम सुरु भएको देखिन्छ ।

यहाँका १० वटा घरमा घरवास सञ्चालनमा आएको घरवास सञ्चालक रनकुमारी गुरुङले जानकारी दिएका छन् । पछिल्ला दिनमा होमस्टेमा पर्यटक आउने क्रम बढेको जनाउँदै उनले बन्दाबन्दीका समयमा भने सञ्चालन नगरिएको बताए । भुकदेउरालीमा १ सय ६७ घर रहेकोमा ३२÷३३ वटा गुरुङका घर छन् । यहाँ दलित समुदायको बाहुल्यता छ । धेरै सम्भावना रहेर पनि प्रचारप्रसारको अभावमा अन्नपूर्ण हिमालको काखमा रहेको देउराली ओझेलमा परेको डिलकुमारी गुरुङले बताइन् । गाउँ पर्वतको उत्तरी भेगमा पर्छ । गाउँमा पुराना संरचनालाई संरक्षण गर्दै सार्वजनिक शौचालय, सामुदायिक भवन तथा खेलमैदानको निर्माण सम्पन्न भइसकेका छन् । रासस

कमेन्टहरु
Loading...