पोखरा । नेपाली राष्ट्रिय टोपी प्रतिष्ठान गण्डकीले राष्ट्रिय टोपी दिवसको शुभकामना व्यक्त गर्दै यो वर्षको दिवसलाई सामाजिक दुरी कायम गरेर, स्वास्थ्य सम्बन्धी सबै नियम पालना गरेर मनाउन सबैलाई आग्रह गरेको छ ।
आज प्रतिष्ठान गण्डकीका अध्यक्ष महेश्वर सिंह भण्डारी तथा सचिव सचिन रानाभाटद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा दिवसका अवसरमा कुनै पनि औपचारिक कार्यक्रमको आयोजना नगरिएको जानकारी गराइएको छ ।
प्रतिष्ठानले ढाकाको टोपीलाई बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भन्दै गलत प्रचार गरिएकोमा समेत ध्यानाकर्षण भएको जनाएको छ ।
‘कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई ढाका भनिन्छ । ढाकाबाट बुनिएको टोपीलाई ढाका तपुलि भनिन्छ जसलाई खस भाषामा ढाका टोपी भन्ने गरिन्छ ।’ प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ । जून एउटा अपभ्रम र मिथ्या मात्रा हो ।’
प्रतिष्ठानले नेपालीहरुको पहिचानसंग जोडिएको ढाका टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउन सहयोग गर्न समेत सबैसंग अपील गरेको छ ।