‘हेर्न नभ्याइने’ मा मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट फेरि हेर्न नभ्याइनेमा परेको छ । बुधबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको रिट आजपनि उक्त सूचीमा परेको छ । बिहीबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको पेसी चढेको रिट हेर्न नभ्याइने परेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा ५ पुसमा प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिइन् । त्यसको पाँच दिनपछि १० पुसमा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

वैशाखका लागि चुनाव समेत घोषणा गरिसकेको कामचलाउ सरकारले मन्त्रीहरू थपेको विरोधमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । दुवै रिट हेर्न नभ्याइनेमा परेको हो ।रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रतिनिधिसभा विघटनपछि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यसमेत नभएको र सरकार कामचलाउ भइसकेको अवस्थामा संविधानको मर्मविपरीत मन्त्रिपरिषद् विस्तार गरेकाले त्यसलाई बदर गर्न रिटमा माग गरिएको छ ।

कमेन्टहरु
Loading...