नेपाल कोभिड जित्न राम्रो गर्ने देश भएको छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ जित्ने देशमा नेपाल राम्रो गर्नेको पंतिमा रहेको बताएका छन् । ज्यापु संस्कृति विकास कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारले आवश्यक स्वास्थ्यका पूर्वाधारको विकास गर्दै संक्रमण कम गरिरहेको बताएका हुन् ।

पछिल्लो समय आएर सङ्क्रमण निको हुनेको संख्या बढिरहेको उनको भनाइ छ । सरकारले कुनै पनि तयारी नभएको अवस्थाबाट अहिले ८० भन्दा बढी स्थानमा कोभिड परीक्षण गर्ने अवस्थामा पुगेको उनले बताए । उनले भने, ‘पहिलो केस हामीले हङकङ पठाएका थियौ भने अहिले धेरै ठाउँमा परीक्षण र उपचार गर्ने व्यवस्था मिलाइएको छ ।’

मन्त्री पोखरेलले ज्यापु समाजको रचनात्मक सुझावका कारण सरकारले गुठी विधेयक सच्याएको बताए । यो समुदायले संगठित र एकीकृतरुपमा आफ्ना माग सरकारलाई बुझ्ने गरी राखेको उनको भनाई छ ।

देशकै कतिपय ठाउँका गुठीले सामन्तवादलाई बढावा दिए पनि काठमाडौँ उपत्यकाका गुठीले धर्म र संस्कृतिलाई बढवा दिइरहेको उनले बताए । उनले भने, ‘यहाँका गुठी जनताको सम्पत्ति हो र यिनलाई यसरी नै अघि बढाउनुपर्छ ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यो दिवसप्रति सरकारको सहयोग र सद्भाव रहँदै आएको बताएका छन् । कोषमा अहिलेसम्म ६० लाख भएकामा ४० लाख थप गर्न गरिएको आग्रहमा उनले त्यसप्रति सरकार सकारात्मक रहेको बताए । उनले केन्द्र सरकार र स्थानीय सरकार दुवैले जात्रा, पर्व र संस्कृति संरक्षणमा चासो दिइरहेको जनाएका छन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, कोषका अध्यक्ष मंगलकृष्ण सिंहलगायतले ज्यापु समाजले आफ्नो संस्कृतिको उत्थान र विकासमा लागिपरेको बताए । रासस

कमेन्टहरु
Loading...