प्रधानमन्त्रीको प्रचण्ड–नेपाल समुहलाई व्यंग्यः कमिलाको भर्खर पखेटा पलाएजस्तो फुरफुर गरिरहेका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समुहले आयोजना गरेको सुदुरपश्चिमस्तरीय भेलालाई आज सम्बोधन गर्दै प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने स्पष्ट पारेका छन् । कार्यक्रममा उनले निर्वाचन गरेर लोकतन्त्र नजाने उनले बताए ।

कार्यक्रम अवधिभरी उनले नेकपाकै प्रचण्ड–नेपाल समुहलाई कटाक्ष गर्न छाडेनन् । प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा साबुनका डल्ला नै सकिएको बताउँदै व्यंग्य गरे । ‘साबुनका डल्लामात्र होइन, प्रचण्डलाई धुँदाधुँदै ड्रमका ड्रम पानी पनि सकिए ।’ प्रचण्डको ध्यान जहिले पनि सत्ता र शक्ति तथा कुर्सीलाई कसरी कब्जा गर्ने भन्ने रहेको उनको आरोप थियो ।

कार्यक्रममा उनले प्रचण्ड–नेपाल समुहका अर्का अध्यक्ष माधवकुमार नेपाललाई पनि व्यंग्य गर्न छाडेनन् । प्रधानमन्त्री ओलीले नेपालले पद तथा शक्ति चाहिन्न भन्ने तर पदकै लागि प्रचण्डको साथ दिएको आरोप लगाए । ‘माधव नेपालजीप्रति म धेरै टिप्पणी गर्न चाहन्न, उहाँ जहिले पनि मलाई पद चाहिन्न भन्नुहुन्थ्यो । तर पद कै लागि प्रचण्डको साथ लाग्नु भयो ।’ व्यंग्य गर्दै उनले भने, ‘पद त उहाँले पाउनुभयो । तर दित्तीय अध्यक्ष रे । त्यस्तै पनि हुन्छ र ? नम्बर १ पदका लागि जानुभएको आखिर दित्तीय अध्यक्ष पो बन्नुभयो ।’

अन्तिम समयमा कमिलाको पनि पखेटा पलाउने भन्दै उनले प्रचण्ड–नेपाल समुहलाई व्यंग्य गरे । ‘कमिलालाई काल आयो भने पखेटा पलाउँछौ । प्वालबाट बाहिर आउँछ र फुरफुर उड्न थाल्छन् । त्यहाँ चराहरु उडिरहेका हुन्छन् । अनि पखेटा पलाएका कमिला चराको आहारा बन्छन् ।’ उनले भने, ‘अहिले उनीहरु पनि कमिला जस्तै भएका छन् । भर्खर पखेटा पलाएपछि फुरफुर गरेका छन् । मलाई अनेक आरोप लगाएर हिंडेका छन् । आरोप लगाएका छन् । उनीहरुको अवस्था पनि कमिलाको जस्तै हुन्छ ।’

स्वस्थ तथा धाँधलीरहित चुनाव हुने उनको भनाई छ । ‘तपाईंहरु चुनावमा आउनुस्, धाँधली हुँदैन, बाकस साटिदैन र मतपत्र पनि च्यातिदैन’ उनले भने, ‘डराउनुपर्दैन चुनावमा भिड्न नडराउनुस् ।’

केपी ओली मतपत्र च्यात्ने समुहबाट नआएको उनको स्पष्टोक्ति थियो । ‘केपी आली मतपत्र च्यातेर चुनाव जितेर आएको होइन ।’ उनले भने, ‘म त चुनाव जितेर संसदीय दलको नेताबाट प्रधानमन्त्री चुनिएको व्यक्ति हुँ । माधव नेपालसंग महाधिवेशनमा चुनावमा जितेर आएको हुँ, हाइजम्प गरेर एकैपटक आएको होइन ।’ अध्यक्ष पद चाहिने हो भने चुनावमा आउन उनले प्रचण्ड–नेपाल समुहलाई चुनौती दिए ।

कमेन्टहरु
Loading...