एक वर्षअघि मानवअधिकारकर्मी गाैरी प्रधानसँग निलाे गञ्जीमा (दायाँ) समाल । तस्बिरः गाैरी प्रधान
दिपक के श्रेष्ठ
०३५–३६ सालमा भएको विद्यार्थी आन्दोलनका एक नायक पात्र बलराम समाल अब यस धर्तीमा रहेनन् । समालको ६५ वर्षको उमेरमा यही सोमबार महोत्तरीस्थित निवासमा निधन भएको छ ।
आन्दोलनको उभारबाट खारिएर तत्कालिन नेकपा मालेमा आबद्ध समालको मृत्युको खबर महोत्तरीको चौघेरबाट बाहिरिन सकेन । युवावस्थामा उनले जुन पार्टीमा रहेर आन्दोलन गरे त्यो पार्टी एमाले हुँदै अहिले नेकपा भएको छ । तर सत्तामा रहेको उनको पार्टीले समाललाई चिनेन ।
समाल लामो समयदेखि मानसिक रोगले ग्रस्त थिए । मुलुकमा बहुदलीय प्रजातन्त्र आएपछि पनि पार्टीले उनलाई सम्झेन । साथीभाई र घरपरिवारकै सहयोगमा उनलाई ३ पटकसम्म उपचार गराउन राँची पु¥याइए पनि उनी ठिक भएनन् । आर्थिक अभावले नियमित औषधि जुटाउन नसक्दा समाल मृत्युको मुखमा पुगे ।
उनको मृत्युप्रति मानवअधिकारकर्मी गौरी प्रधानले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै एक वर्ष अघि उनलाई भेटेको स्मरण गरे । गन्थनसँगको कुराकानीमा उनले उचित उपचारकै अभावमा समालको जीन्दगी छोटिएको दुखेसो पोखे ।
‘हामी एकै छिमलका हौं, उहँलाई साथीभाई मिलेर सकेको ग¥यौं तर ठिक भएनन्’ प्रधानले भने ‘०३६ सालको आन्दोलनमा पक्राउ परेपछि राज्यले दिएको चरम यातनाकाकारण उनी शारीरिक र मानसिक रोगी बनेका थिए ।’
विद्यार्थी आन्दोलनमा सबैका भाषण दमदार हुने गरेको भन्दै प्रधानले समालको भाषण भने अझ बढी जोशिलो हुने सुनाए । ‘उनले भाषण गर्दा आगो पार्थे, सुन्नेको शरीरमा आँट र उत्साह भरिन्थ्यो’ प्रधानले अतीत सुनाए ।
समालका समकालीन भीमानन्द ढुंगानाले अझैपनि चाबेलमा उनले गरेको भाषण झल्झली याद आउने गरेको बताए । पार्टीले राजनीतिक पीडितका नाममा सहयोग गर्ने चासो नदेखाएकोमा उनले खिन्नता महशुस गरे ।
एक वर्ष अघिदेखि समालको स्वास्थ्य निकै जटिल हुँदै गएको थियो । उनलाई उपचार गर्न परिवारले धेरैतिर हारगुहार पनि गरेको थियो । कतैबाट सहयोग पाउन नसक्दा समालले ज्यान गुमाउनु परेको छोरी सुनगाभाले बताइन् ।