काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन् ।
तमु (गुरुङ) समुदायको तमु ल्होछार र ल्होसार, किराँत समुदायको उधौली र नेवार समुदायको यःमरी पुन्हीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज शुभकामना दिँदैै अध्यक्ष दाहालले विविधताभित्रको एकता नेपाली समाजको विशेषता भएको तथा यिनै सामाजिक र सांस्कृतिक मूल्य मान्यतासहितका परम्पराबीचको आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले पनि नेपाली समाजमा भएका यिनै विभिन्न समुदायका अधिकार र पहिचानलाई मूर्तिकृत गरेको स्मरण गर्दै उनले आ–आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्व यस वर्ष कोरोना भाइरसको महामारीलाई ध्यानमा राखी पूर्वसावधानीका उपाय अवलम्बन गर्दै मनाउन सबैमा आग्रह गरेका छन् । अध्यक्ष दाहालले आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको जनाउँदै उपलब्धि गुम्न नदिन एकताबद्ध भई आन्दोलनमा लाग्न आग्रह गर्दै चाडपर्वको अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । रासस