दिपक के श्रेष्ठ
गत ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि निरन्तर आन्दोलनमा रहेका नेकपाका प्रचण्ड–नेपाल (प्रने) समूहले आज देशभर सशक्त प्रदर्शन ग¥यो ।
राजधानीमा आयोजित सभामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अझै एकाध महिना आन्दोलनमा जुट्न कार्यकर्ताले निर्देशन दिए । सम्बोधनकाक्रममा प्रचण्डले भने ‘अब एकाध महिना आन्दोलनमा लाग्नुहोस्, प्रतिगमन सच्चिनेछ ।’ आन्दोलनकै बलमा सांसद पुनःस्थापना हुने उनले दाबी गरे ।
त्यस्तै, ओलीको चुनावको डंका फुकेकोप्रति लक्षित गर्दै उनले हुँदाखादाको दुई तिहाइको सरकार विघटन गरेर चुनाव गराउने र बहुमत ल्याउने कुरा हाँस्यास्पद रहेको टिप्पणी गरे ।
आन्दोलनलाई निरन्तरता दिने क्रममा बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे अखिल नेपाल महिला संघको बृहद भेला आयोजना गरिएको छ । भेलालाई पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।
यसैगरी, भोली नै दिउँसो १२ बजे उपत्यकामा उपलब्ध स्थायी कमिटीका सदस्यलाई आगामी आन्दोलनको भावी कार्यक्रम र रणनीतिबारे जानकारी दिइनेछ भने साँझ ३ बजे उक्त आन्दोलनका कार्यक्रमबारे मिडियालाई जानकारी दिइनेछ ।