काठमाडौं । उखुको बाँकी रकम भुक्तानी हुनुपर्ने माग राख्दै माइतीघरमा आन्दोलन गरिरहेका १ जना उखु किसानको हृदयघात भएर ज्यान गएको छ । विगत १६ दिनदेखि भइरहेको आन्दोलनमा सहभागी भएका उखु किसान ६५ वर्षीय नारायण राय यादवको हृदयघातबाट ज्यान गएको हो । सर्लाहीको धनकौल छोटवल टोलका यादवलाई आज बिहान हृदयघात भएको थियो । उनको आज बिहान उपचारका क्रममा सहिद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो ।
मंसिर २८ गतेबाट नै माइतीघरको आन्दोलनमा सहभागी हृदयघात भएर ज्यान गुमाएका यादवले सरकारसंग भएको सम्झौताप्रति असहमति जनाएका थिए । अन्नपूर्ण चिनी मिलसंग अझै पनि २४ लाख ६३ हजार रुपैयाँ बक्यौता पाउनुपर्ने तथा काठमाडौंमा आन्दोलन जारी राखेको भए पनि उक्त बक्यौता रकम आफू नपाएको भन्दै उनले सम्झौताप्रति असहमति प्रकट गरेका थिए ।
आज बिहान ५ बजेको समयमा उनले आफ्नो स्वास्थ्यमा केही असहज भएको बताएपछि उनलाई चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पु¥याइएको थियो । सो अस्पतालमा उपचार सम्भव नभए पनि उनलाई थप उपचारका लागि गंगालाल अस्पताल लगिएको थियो ।