पोखरा । कोभिड–१९ ले पर्यटन क्षेत्र ठप्प हुँदा रोजगारी गुमाएका पर्यटक मजदुर पदमार्गको स्तरोन्नति काम पाउँदा राहत अनुभव गरेका छन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) सहयोगमा सञ्चालित जीवनयापन सहयोग कार्यक्रमको पहिलो चरणको नमूना परियोजना अन्तर्गत पोखराको–२४ कास्कीकोटमा पदमार्ग (हाइकिङ ट्रेल) स्तरोन्नति भइरहेको छ ।
उक्त कार्यमा व्यस्त कास्कीकोटका ३० वर्षीय दुर्गाबहादुर नेपालीले बेरोजगार भएर बसिरहेको समयमा पाएको रोजगारीले धेरै राहत भएको बताए । पर्यटन क्षेत्रमा १२ देखि पथप्रदर्शन काम गर्दै आएका उनले लामो समय घरमा बस्दासमेत दिक्क मानेको अनुभव सुनाए । ‘यस क्षेत्रमा लागेको १२ वर्ष भयो, जीविकोपार्जनको आधार त्यही थियो । कोभिड– १९ को कारण पर्यटक नआउँदा रोजीरोटीमा समस्या पर्नुका साथै घर बस्दा बस्दा दिक्क लागेको थियो ।’ उनले भने । उनले दैनिक १ हजार ज्याला पाइने र काम पनि त्यति गाह्रो नभएको बताएका छन् ।
सन् १९९८ देखि पर्यटन क्षेत्रमा भरिया हुँदै पथप्रदर्शनको काम गर्दै आएका ४२ वर्षीय चन्द्रकान्त सुवेदी छोटो समयको वैकल्पिक कामले अहिलेको अवस्थामा निकै राहत भएको जानकारी दिएका छन् । ‘पदप्रर्दशक हुँदा १ मौसममा २/३ लाख कमाइ हुन्थ्यो, त्यसैले घरखर्च चलाउन सहज भएको थियो । अहिले काम नभएपछिका दिन निकै कष्टकर छ । हातमा पैसा देख्नसमेत मुस्किल भएको अवस्थामा यो कामले धेरै राहत अनुभुति भएको छ ।’ उनले पर्यटन चलायमान भएपछि पर्यटक आउने विश्वास व्यक्त गरे ।
अर्का पर्यटक मजदुर कास्कीकोटका ३६ वर्षीय एकराज सुवेदीले अहिलेको अवस्थाले गाँसबास नै अन्तिम अवस्थमा पु¥याएको अनुभव सुनाए । ‘कोभिड–१९ ले सिर्जित अवस्थाले जीविकोपार्जनको आधारनै टुटेको छ । अहिलेको समयमा पदमार्ग सरसफाइ, मर्मतसम्भारको काममा व्यस्त हुन पाउँदा केही राहत भएको छ ।’ उनले पदमार्गमा बिहान १० देखि ५ बजेसम्म सामान्य बाटो स्तोरन्नतिको कार्यमा उनले बताएका छन् । उनका अनुसार पदमार्गमा बाटो मर्मत चौतारो मर्मत, झाडी फाल्ने कार्य भइरहेको छ । पर्यटन चलायमान नभएरसम्म पर्यटक मजदुरलाई यस्तै वैकल्पिक काम दिएर रोजगारमा लगाउन पनि उनको आग्रह छ ।
नेपाल पर्यटन बोर्डका निर्देशक एवं अनुसन्धान योजना तथा अनुगमन महाशाखा प्रमुख मणि लामिछाने कोभिड १९ ले धेरैको रोजीरोटी गुमेको अवस्थामा तत्कालको अवस्थालाई ध्यान दिएर जीवनयापन कार्यक्रममार्फत रोजगार प्रदान गरेको बताए ।
‘महामारीले पर्यटनमा छिटो प्रभाव पार्छ र पहिलेकै अवस्थामा हुन पनि समय लाग्दछ, यस्तो अवस्थामा अग्रमोर्चामा बसेर सेवा दिइरहनुभएका मजदुरको अवस्थालाई ध्यान दिएर छोटो समयका लागि रोजगार प्रदान गरिएको हो ।’
उनले पहिलो चरणमा युएनडिपीको आर्थिक सहयोगमा गण्डकी प्रदेश कास्कीकोट, मादी गाँउपालिकाको टोनी हेगन पदमार्ग र अन्नपूर्णको गाउँपालिको अन्नपूर्ण बेसक्याम्पका गरी १ सय ७० जना र प्रदेश १ को एभेरष्ट क्याम्पमा ८० जना जनकपुर २० जना गरेर २ सय ५० जनालाई मजदुरलाई ४५ दिनको अल्पकालीन रोजगार प्रदान गरेको जानकारी दिएका छन् ।
उनका अनुसार मेगा परियोजनाको रुपमा साढे २ वर्षको दीर्घकालीन पर्यटन जीविकोपार्जन परियोजना अन्तर्गत नेपालभरी करिब एक हजार ६०० जनालाई रोजगार दिने गरी गृहकार्य भइरहेको छ । कास्कीकोट पर्यटन विकास समितिका अध्यक्ष उदय सुवेदीले आर्थिक अवस्था कमजोर भएका पर्यटन मजदुरहरुले हाइकिङ ट्रायलमा काम गरिरहेको जानकारी दिएका छन् ।
उनकाअनुसार अन्नपूर्ण गाउँपालिका– १ नागडाँडाबाट सुरु भएको अपांगमैत्री करिब ३ किलोमिटर देउरालीसम्म रहेको छ भने त्यस यताको पदमार्ग पोखरा २४ र १८ सम्म ७ किलोमिटर रहेको छ । अहिले ३ वटै वडामा काम भइरहेको छ ।
उक्त पदमार्ग स्तरोन्ततिको लागि दैनिक १० मजदुर ४५ दिनसम्म खटिनेछन् । उक्त योजनाको लागि ५ लाख ७१ हजार रकम छुट्याइएको छ । पर्यटनमा आश्रित कमजोर आर्थिक अवस्था १० मजदुरलाई पहिलो चरणमा काम दिइएको र दोस्रो चरणमा फेरि महिलाको समूहलाई प्राथमिकता दिइने उनले जानकारी दिएका छन् । रासस