काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपालमा क्रिस्चियन धर्मावलम्बीको संख्या वृद्धि भएकोमा चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालमा त्रिश्चियनहरुको संख्या बढेकोमा नेपालीहरुलाई चित्त दुख्दैन भन्दै प्रश्न गरेका हुन् । उनले २००७ सालमा २ दर्जन क्रिस्चियन रहेको भए पनि अहिले त्यो संख्या बढेर ४० लाख पुगेको बताएका छन् ।
‘कुनै धर्मप्रति मेरो वैमनश्यता/विरोध छैन । तर २००७ सालमा २ दर्जन क्रिस्चियन भएको नेपालमा लोभलालच, भ्रम सिर्जना गरेर तथा संगठित रुपमा भइरहेको धर्म परिर्वतनको परिणाम स्वरुप अहिले करिब ४० लाख पुगेको छ ।’ उनले ट्वीटरमा लेखेका छन्, ‘हाम्रो गौरवशाली सनातन धर्म, सभ्यतामाथिको यो आक्रमणले असह्य पीडा हुन्छ । के तपाईंको मन दुख्दैन ?’
धर्म परिर्वतनको निशानामा सबैभन्दा बढी आदिवासी जनजाति तथा दलित समुदायहरु परेको गुनासो गरेका छन् । पहिचान मेटाउने षड्यन्त्रमा पहिचानको रक्षा गरौं भन्दै लाग्नेहरु नै रहेको उनको आरोप छ ।
‘धर्म परिर्वतनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति तथा दलित समुदाय परेका छन् । पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरु आदिवासी, जनजाति तथा दलित समुदायको पहिचान मेटाउने षड्यन्त्रका मतियार हुन् ।’ उनले भनेका छन्, ‘यिनले डलरसंग राष्ट्रको पहिचान, गौरव बेच्ने गद्धारी गरिरहेका छन् । सनातन धर्म संस्कृतिको रक्षा गरौं ।’