गन्थन डेस्क
पछिल्लो समयमा बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेपछि पुनः लकडाउन घोषणा गरेको छ । लकडाउनले क्रिसमसलाई समेत प्रभावित बनायो । हाल कोरोना जोखिमलाई रोक्न बेलायतबाट नेपाल भित्रिएका २ सय ३५ जना नागरिक निगरानीमा परेका छन्।
उनीहरूको स्वाब नमुना संकलन गरी नेपालमा नयाँ भाइरस प्रवेश भए/नभएको अध्ययन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बेलायतबाट सीधै र अन्य मुलुकबाट बेलायत ट्रान्जिट हुँदै आउने नागरिकलाई निगरानीमा राखिएको जानकारी दिए।
स्वास्थ्य मन्त्रालयअन्तर्गत इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले गत बुधबार बसेको नयाँ भाइरसको स्वरूप नेपालमा भित्रिएको छरछैन भन्नेबारे अध्ययन गर्ने निर्णय गरेको थियो।
नयाँ भाइरस संक्रमण देखिएसँगै बेलायतबाट हुने उडान र यात्रु आगमनलाई नेपालमा प्रतिबन्ध लगाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले गत बुधबार रातिदेखि लागू हुने गरी बेलायत र बेलायत ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन विभिन्न हवाई सेवालाई सर्कुलर गरेको थियो।