प्रधानमन्त्री विरुद्ध सर्वोच्च अदालत अगाडि नाराबाजी गर्ने नेविसंघका ५ कार्यकर्ता पक्राउ

काठमाडौं । सर्वोच्च अदालत अगाडि नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्ने पाँच कार्यकर्र्ता पक्राउ परेका छन् । संसद विघटनको पक्ष र विपक्षमा बहस भइरहेको बेला प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने नेविसंघ कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सर्वोच्च क्षेत्र वरपर सुरक्षा व्यवस्था कडा छ । यो निषेधित क्षेत्र पनि हो । तर, सुरक्षाकर्मीको आँखा छल्दै केही युवाहरु सर्वोच्च अदालतको मुख्य गेट अगाडि नै प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘असंवैधानिक कदम खारेज गर’ लेखिएको प्लेकार्ड र नेविसंघको झण्डा बोकेका थिए । उनीहरुले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका थिए । तर तत्कालै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । नेविसंघका नवराज त्रिपाठीसहित ५ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा गरेपछि सरकारको सर्वत्र विरोध भइरहेको छ ।

कमेन्टहरु
Loading...