काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले शुक्रबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन्। उच्च स्रोतका अनुसार ओलीले मन्त्रिपरिषद बिस्तार तथा पुनर्गठन गर्न लागेको जनाएको छ । यसअघि गत आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।
प्रतिनिधि सभा विघटन भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। यसबीचमा सात जना मन्त्रीले प्रतिनिधि सभा विघटनको विरोधमा राजीनामा दिएका छन्। २५ सदस्यीय मन्त्रिपरिषदमा ७ जना मन्त्रीले राजिनामा दिएपछि हाल १८ जना मन्त्री र राज्यमन्त्रीहरु छन् । त्यस्तै रक्षा मन्त्रालय पछिल्लो समय प्रधानमन्त्रीसँगै छ । प्रधानमन्त्रीले आठ वटा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सक्ने अवस्था छ ।
प्रतिनिधिसभा विघटनपछि प्रचण्ड माधव नेपाल पक्षका मन्त्रीहरु घनश्याम भुसाल,गिरिराजमणी पोखरेल,योगेश भट्टराई,वर्षमान पुन,शक्ति बस्नेत,रामेश्वर राय यादव र विना मगरले राजीनामा दिएका थिए । उनीहरुको ठाउँमा अब सबै ओली नेतृत्वको नेकपाका मन्त्रीहरु थपिने छन् । प्रधानमन्त्रीले क कसलाई मन्त्री बनाउछन् भन्ने निकटस्थहरुले पनि अनुमान लगाउन सकेका छैनन् ।